
महोत्तरी - सम्सी गाउँपालिका-२ पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अंसारीलाई सोही ठाउँका ३५ वर्षीय शेख अब्दुल कलामले अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
अन्सारीलाई पुस ७ गते आरोपित कलामले हात बाँधेर अमानवीय तरिकाले कुटपिट गरी नालामा फ्याकेपछि तत्काल उपचारका लागि जनकपुरको जानकी हेल्थ केयरमा लगिएकोमा उपचारको क्रममा पुस १० गते मृत्यु भएको हो ।

पुस ७ गते बिहान करिब ४ बजे घरबाट हिँडेका अंसारी अपराह्न ३ बजे गाउँकै नालामा अचेत अवस्थामा फेला परेको थियो । उनलाई परिवारले तत्काल रामगोपालपुर नगरपालिका-९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगेको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको थियो । अंसारीको पुस १० गते बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अमानवीय व्यवहार, कुटपिट र ज्यान मार्ने उद्योगमा मृतकका भाई मोहम्मद जमसद अन्सारीले पुस ७ गते उजुरी दिएको आधारमा आरोपित कलामलाई सोही दिन गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रञ्जन मिश्रले बताउनु भयो । उपचारकै क्रममा अंसारीको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको इन्स्पेक्टर मिश्रले जानकारी दिनु भयो । सोही घटनामा संलग्न रहेको भनिएका ४२ वर्षीय साबिर शेख र २१ वर्षीय जिनमा शेख फरार रहेकोले खोजि कार्य जारी रहेको उहाँले बताउनु भयो ।

आरोपित कलामले अंसारीलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा आरोपित सलामले अमानवीय तरिकाले कुटपिट गर्दै गरेको दृष्य खिच्न लगाएको प्रहरी समक्ष स्वीकार गरेको छ । भिडियोमा अंसारीलाई निर्वस्त्र पारेर निर्ममतापूर्वक कुटपिट गर्दै उनको मलद्वारमा आगो लगाउने प्रयास गरिरहेको देखिन्छ । अंसारीको दुबै हात बाँधेर कुटपिट गर्नुका साथै मलद्वारमा उखुको लौरो घुसाएको दृष्य देखिन्छ ।
आरोपित कलामले बजारमा काटेको खसीको हिसाब नदिएको र पुस ७ गते समेत खसी किन्न नगएको रिसमा अंसारीलाई चरम यातना दिएको भिडियो मै बताइ रहेका छन् । अंसारीले आफूले कुनै चोरी नगरेको र खसीको हिसाब समेत दिने भनि रहँदा समेत उनी माथि निर्ममतापूर्वक कुटपिट गरिएको भिडियोमा देखिन्छ ।
यसैबिच घटना सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मंजु खतिवडा, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, पत्रकार रंजन भण्डारी, धर्वेन्द्रकुमार यादव “यदुवंशी” ,अनिस कुमार साह सहितका अगुगमन टोलीले पुस ११ गते पीडित परिवारको घरमा पुगी मृतककी पत्नी ३९ वर्षीया रसिदा खातुनसँग घटना बारे जानकारी लिएका छन् ।
खातुनले आफ्नो पतिलाई एका विहानै ३ बजे नै घरबाट जिन्मा र साब्बीरले बोलाएर लगेकोमा अब्दुस कलामले यातना दिएर हत्या गरेको बताउनु भयो ।

खातुनले भन्नु भयो, “अन्सारीले पहिले आफैँ खसी काट्ने गरेकोमा उनीसँग पुँजी अभाव भएपछि शेष अब्दुल कलामले आफ्नो किराना पसल र खसी काट्ने काम हेर्ने गरी मासिक १५ हजार रुपियाँ मासिक तलबमा काममा राखेका थिए ।” उनका अनुसार पतिले कलामको पसल हेर्नेदेखि घरको काम, चिया बनाउने, खाना बनाउने र बजार लागेको दिन खसी काटेर मासु बेच्दै आएका थिए । खातुनले भनिन्-“पाँच दिन अगाडि मात्र काम सुरु गरेकोे पतिको हत्या कलामले गरे ।”
मृतक अन्सारीका भाइ मोहम्मद जमसद अन्सारीले आफ्नो दाजुलाई चरम यातना दिएर हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गर्दै सोको पहलका लागि मानव अधिकारकर्मीको टोलीसँग आग्रह गर्नु भयो । उहाँले भन्नु भयो-“मेरो दाजुलाई चरम यातना दिएर मारेको छ । दाजुको मलद्वारमा खुर्सानी, काठको धुलो र टमाटर समेत कोचेको भेटियो । मेरो दाइको जिउमा करेन्ट समेत लगाइयो, आगोले जलाइयो र छुराले अनुहारमा समेत काटेर खुर्सानी दलेको भेटियो । यो भन्दा क्रुरता अरु के हुन सक्छ ।”
इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर मिश्रले सार्वजनिक भएको भिडियोले स्पष्ट रुपमा घटनामा संलग्नहरु देखिएको र यातना दिइरहेको देखिएको हुँदा सबै छर्लङ्ग नै भएको हुँदा अमानवीय व्यवहार, कुटपिट र हत्याको मुद्दा चलाइने मानव अधिकारकर्मीसँगको भेटमा बताउनु भयो ।
इलाका प्रहरी कार्यालय गौशलाको हिरासतमा रहेका आरोपित शेख अब्दुल कलामले आफू नशा सेवन गरेर होसमा नरहेको हुँदा यस्तो घटना गरेको स्वीकार गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मंजु खतिवडाले यस घटनालाई मानव अधिकार उल्लङ्घन तथा क्रुरताको पराकाष्ठाको संज्ञा दिंदै आरोपितलाई हदै सम्मको कारबाहीको माग गर्नु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले घटनालाई गम्भिरता पूर्वक हेर्नु पर्ने र घटनामा संलग्न व्यक्तिलाई कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाँले घटना संलग्न भनिएका फरार आरोपितहरुलाई अबिलम्ब खोजतलास गरी कानुनको दायरामा ल्याउन माग गर्नु भयो ।
पासवानले मृतकको आर्थिक अवस्था दयनीय रहेको, दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गरिरहेको र ६ जना नाबालक छोरा छोरीहरु रहेको हुँदा तत्काल क्षतिपूर्ति उपलब्ध गराउनको लागि माग गर्नु भयो । उहाँले स्थानीय सरकार सम्सी गाउँपालिकाबाट क्रियाखर्च उपलब्ध गराउनको माग गर्दै प्रहरी रिपोर्टमा समेत क्षतिपूर्तिको लागि बुँदाहरु उल्लेख गरिदिनु हुन इन्स्पेक्टर मिश्रसँग अनुरोध गर्नु भयो ।

आरोपित शेष अब्दुल कलाम यसअघि पनि लागुपदार्थ ओसारपोसार मुद्दामा दुई पटक जेल सजाय भोगिसकेको इन्स्पेक्टर मिश्रले जानकारी दिनु भयो ।
यो पनि पढ्नु होस् ।
महोत्तरीमा साहुद्वारा चरम यातना : जिउँदै आगो लगाएर नालामा फालिदिए पछि मृत्यु