जनकपुरधाम- इस्वी संवत् २०२३ मनाउन जनकपुरधाम आउने भारतीय पर्यटकहरूको सङ्ख्यामा अत्यधिक मात्रामा वृद्धि भएको छ ।
नयाँ वर्ष मनाउनका लागि भारतको विहार, उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखण्ड सहितको ठाउँबाट ठुलो सङ्ख्यामा पर्यटकहरू जनकपुरधाम आएका छन् ।
जनकपुरधामको जानकी मन्दिरमा बिहानदेखि नै भारतीय पर्यटकहरूको घुइँचो रहेको छ ।
भारतीय पर्यटकहरू नयाँ वर्षभन्दा एक दिन अगाडी अर्थात् शनिबार नै जनकपुरधाम आएर होटलमा बास बसेर आज बिहान जानकी मन्दिर, राममन्दिर सहितका मठ मन्दिरहरूमा पूँजाअराधना गरेका छन् । घर परिवारसहित नयाँ वर्ष मनाउनका लागि जनकपुरधामका होटलहरु शनिवारदेखि नै कतिपय भारतीय पर्यटकहरूले बुक गरेका थिए ।
नयाँ वर्षमा मन्दिरहरूमा पूजा पाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने भएकाले भारतको विभिन्न भागबाट आफ्नो सवारी साधन लिएर भारतीय पर्यटकहरू जनकपुरधाम आउने गरेका छन् ।
भारतीय पर्यटकहरूको सवारी साधनको व्यवस्थापनमा बिहानदेखि नै ट्राफिक प्रहरी लागिपरेको छ । कतिपय पर्यटकहरू बिहान आउने र दिउँसो तीर फर्किने गरेका छन् ।
यता जनकपुरधाममा पूजापाठ तथा रमाइलो गर्नका लागि धनुषाको जटही नाकाबाट नेपाल आउने कतिपय पर्यटकहरूलाई भन्सार दर्तामा लाइन बस्नुपर्ने समस्या भएकाले नाकाबाट फर्केको गुनासो गरेका थिए । जटही नाकामा एक वटा मात्र काउन्टर भएकाले सवारी साधनको दर्ता गराउनमा दुई घण्टा लाइन लागेकाले असहजता उत्पन्न भएको पर्यटकहरू बताउँछन् ।
यसैगरि महोत्तरीका भिठामोड नाकाबाट भारतीय पर्यटकहरू ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्नुभएको छ । नयाँ वर्ष शुरु हुनुभन्दा अगाडीदेखि नै जनकपुरधाममा भारतीय पर्यटकहरूको आगमनमा वृद्धि भए पनि नयाँ वर्ष मनाउनका लागि अझै ठूलो सङ्ख्यामा पर्यटकहरू जनकपुरधाम आइपुगेको छ ।
यसैगरि अङ्ग्रेजी नयाँ वर्षमा वनभोज खानेहरूको सङ्ख्या पनि जनकपुरधामका पर्यटकीय स्थलहरूमा अत्यधिक मात्रामा देखिएको छ ।
जनकपुरधामको कवर्ड हल, मानव सुशासन विकास केन्द्रको क्षेत्र, दुग्धमति क्षेत्र, धनुषाको परशुराम तलाउ, धनुषाधाम, मिथिला नगरपालिकाको पोखरीया, गणेशमान चारनाथ नगरपालिकाको कमलासहितको क्षेत्रमा वनभोज गर्ने तथा रमाइलो गर्नेको बिहानदेखि नै भिड रहेको छ ।
विगतको दुई वर्ष कोरोना महामारी अत्यधिक मात्रामा भएका कारणले भारतीय पर्यटकहरू कम मात्रामा नयाँ वर्ष मनाउनका लागि नेपाल आएका थिए ।