
काठमाडौं- आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह उर्फ निहारिका राजपुत बेलाबेलामा चर्चा र विवादमा आइरहन्छिन् । कुनै समय दुधे बालक च्यापेर माइतीघरमा अनसन बसेकी निहारिकालाई नायिका करिश्मा मानन्धरले समेत संरक्षण दिइन् । तर करिश्मासँग टिक्न नसकेपछि निहारिका उनको घर छाडेर हिँडिन् ।
केही दिनअघि टिकटक लाइभमा आएर निहारिकाले आफूलाई डेंगु लागेको र आर्थिक अभाव भएको भनेर सहयोगको याचनासमेत गरेकी थिइन् । त्यो भन्दा धेरै पहिले नै उनले नेपाल प्रेस लगायतका केही मिडियामा अन्तरवार्ता दिएर आफूसँग कोठा भाडा तिर्ने पैसा नभएको र बच्चालाई समेत राम्ररी खुवाउन समेत नसकेको भनेर भनेकी थिइन् ।
सुरुवाती क्रमको अन्तरवार्तामा उनले आफू कक्षा ११ मा पढ्दै गर्दा १७ वर्षको उमेरमा बलात्कृत भएको भनेर समेत दावी गरेकी थिइन् । तर जतिबेला उनले आफूमाथि बलात्कार भयो भनेकी थिइन्, त्यतिबेला नै उनको उमेर १९ वर्ष भइसकेको तथ्य केही सञ्चारमाध्यमले बाहिर ल्याइदिएका थिए ।
निहारिकाले सुरुवाती चरणमा आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएपनि वास्तवमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको नभई निहारिका र उनका प्रेमी भनिएका शिवराज श्रेष्ठबीचको आपसी सहमतिको सम्बन्धबाट बालकको जन्म भएको भन्दै धनुषा जिल्ला अदालतले बलात्कारको कसुर ठहर गर्न अस्वीकार गर्दै निहारिकाका प्रेमी शिवराज श्रेष्ठलाई सफाई दियो र बालक तथा निहारिकाले पाउने हक अधिकारका सम्बन्धमा छुट्टै कानुनबाट मागदावी लिन भनेको थियो।
त्यसपछि निहारिका विभिन्न सञ्चारमाध्यम र संघ संस्थाको ढोका ढकढक्याउँदै ‘न्याय’ माग गरिरहेकी छिन् । यतिबेला उनको मुद्दा उच्च अदालत जनकपुरमा चलिरहेको छ ।
निहारिकाको निश्चित आयको कुनै श्रोत छैन । उनले कुनै काम गरेकी छैनन् । उनलाई न निहारिकाका बुवा आमाले सहयोग गरेका छन्, न शिवराजको परिवारले नै । उनी काठमाडौंमा भाडाको घरमा बसिरहेकी छिन् र उनको मासिक खर्च कम्तीमा पनि ३० हजारको हाराहारीमा हुने गरेको छ ।
तर एक रुपैयाँको कमाई नभएको निहारिकाको बैंकमा भने लाखौं रकमको फिक्स्ड डिपोजिट राखेको पाइएको छ । निहारिकाले केही समय अगाडि मात्रै महोत्तरीको सम्सीमा रहेको एनआइसी एसिया बैंकमा ३ लाख ५० हजार रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको पाइएको छ ।
डेफ्थ न्युज एण्ड एनालाइसिस (डीएनए) लाई प्राप्त विवरणमा निहारिकाले २२ सेप्टेम्बर २०२२ अर्थात् २०७९ असोज ६ गतेका एनआइसी एसिया बैंकको सम्सी शाखामा ३ लाख ५० हजार रुपैयाँ फिक्स्ड डिपोजिट राखेकी छिन् ।
डीएनएलाई प्राप्त कागजात अनुसार निहारिकाले गत असोज ६ गते खाता नम्बर ०३१टीडी५०९९१४९९००२ मा ३ लाख ५० हजार रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको पाइएको छ । सोनाली कुमारी सिंहको नामबाट खोलिएको उक्त खातामा उनले एकैपटक यति धेरै रकम फिक्स्ड डिपोजिटमा राखेकी हुन् ।
केही दिन अगाडि मात्रै उनले टिकटकमा लाइभ आएर आफूसँग पैसा नरहेको भन्दै आर्थिक सहयोग गर्न आग्रह गरेकी थिइन् ।
कुनै समय निहारिकालाई ओरेक नेपाल नामक संस्थाले आर्थिक र कानुनी सहयोग गर्ने गरेको थियो । निहारिका कुनै समय ओरेक नेपालको सेल्टरमा समेत बसेकी थिइन् । पछि ओरेक नेपालमा पनि झगडा गरेर निहारिका निस्किएको ओरेक नेपालकी एक कार्यक्रम निर्देशकले बताइन् ।
यद्यपि ओरेक नेपालले पछिल्लो समय भने निहारिकालाई कानुनी सहायता मात्रै गरिरहेको बताएको छ ।
ओरेक नेपालले कानुनी सहायता मात्रै गरेको भए निहारिका अहिले कसरी बाँचिरहेकी छिन् ? उनको आम्दानीको श्रोत के हो त ?भाडा तिर्ने र बच्चालाई खुवाउने पैसा समेत छैन, बच्चालाई विद्यालयमा भर्ना गर्न पैसा छैन भनेकी निहारिकाले कहाँबाट ल्याइन् फिक्स्ड डिपोजिट गर्न ३ लाख ५० हजार ?
श्रोतका अनुसार निहारिकाको अन्य बैंकमा रहेको खातामा पनि बारम्बार पैसा डिपोजिट हुने गरेको छ । उनले अन्य बैंकमा पनि खाता खोलेर फिक्स्ड डिपोजिट गरेको श्रोतले बतायो ।
यस विषयमा बुझ्नका लागि निहारिकालाई पटकपटक सम्पर्क गर्दा उनले हाम्रो फोन उठाइनन् । उनले प्रयोग गर्ने ९८१२०३XXXX मा पटकपटक सम्पर्क गर्दा उनले फोन उठाइनन् ।-डीएनएन्युज