काठमाडौं। जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाइ दिएको छ । नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो।मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए। जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ।
उनीमाथि लागेको नाबालिकामाथि बलात्कार अभियोगमा लामो समयदेखि टुंगो लाग्न सकेको थिएन। बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आज सुनुवाई भएकाे हाे।
यसअघि नवलपरासी जिल्ला अदालत, नवलपुरले शाहमाथिको मुद्दामा फैसला सुनाएको थियो। भदौ २१ गतेको उक्त अदालतको फैसलाअनुसार शाहलाई बलात्कारको आरोपमा सफाइ दिइएको थियो। केवल बाल यौन दुर्व्यवहारको अभियोगमा मात्र भने साढे दुई वर्षको कैद सजाय सुनाइएको थियो। सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन्। नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन्। शाह गत फागुन एक वर्षयता थुनामा छन्।
एक गायिका नबालगिकले जबरजस्ती करणीमा तनहुँ र नवलपरासी पूर्व प्रहरीमा जाहेरी दिएपछि अभियुक्त शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्यरातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भए मात्र स्विकार्छु भन्ने पीडकको अडिओलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो। त्यस विरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
यसबीचमा पीडितले बयान फेरेकी थिइन्। उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन्। उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए।