काठमाडौं- प्रतिनिधि सभाका सभामुख चयनको प्रक्रिया आज बुधबारदेखि सुरु हुँदैछ । प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते विहीबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन्। सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ। छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ। एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।
सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ। एमालेले सभामुख आफूले पाउनेमा दायाँबायाँ सोचेकै छैन एमालेबाट गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रुपन्देहीबाट निर्वाचित छविलाल विश्वकर्मा तथा कास्कीबाट निर्वाचित विद्या भट्टराईको नाम चर्चामा थियो। सत्तारुढ गठबन्धनमा सजिलै बहुमत पुग्ने भएकाले सभामुख आफूले सजिलै पाउनेमा एमाले ढुक्क छ।
तर, नेपाली कांग्रेस भने सरप्राइजको आसामा छ । जसरी नेपाली कांग्रेसले प्रधानमन्त्रीमा माओवादीका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरप्राइज दियो त्यसैगरी सभामुखमा कतै आफूलाई पो सघाइहाल्छन् कि भनेर आसा गरेको छ। कांग्रेसले तटस्थ भूमिकामा रहनुपर्ने राष्ट्रिय पदहरुमा राष्ट्रिय सहमति गरेर बाँडफाँट गर्दा निकै राम्रो सन्देश जाने बताइसकेको छ ।
मंगलबारको सर्वदलीय बैठकमा पनि नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा प्रतिपक्षी दललाई पनि समेट्दा राम्रो हुने विषय उठाएको छ । अर्कोतिर कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रपतिमा वा सभामुखमा माओवादीले सघाउने आसा गरेको पनि अनुमान गरिएका छन् । त्यसैले कांग्रेस राष्ट्रपति र सभामुखमा सरप्राइजको आसामा छ ।