जनकपुरधाम-मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउतले पद तथा गोपनीयताको सपथ लिदैं पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र उपसभामुख राउतलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनीहरुले पदभार सम्हालेका हुन् ।



पदभार ग्रहणसँगै सभामुख मण्डलले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन् । सभामुख मण्डलले भने, ’काम अगाडि बढ्दै जाँदा तपाईँहरूले कति काम हुन्छ थाहा पाउनु हुनेछ ।’
मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कुल १०७ सदस्यीय प्रदेशसभामा १०३ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।
मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरुको समर्थन थियो। प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरु निर्वाचित भएका छन् ।
प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्द बहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् । सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।
यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउतलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएका थिए ।




