
काठमाडौं- शनिबार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन्।
रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन्। समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।
यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
उपसभामुखमा उम्मेदवारी दिएका दुवै नेतृ फरक पृष्ठभूमिका हुन्।
सत्ता साझेदार दलका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर पूर्वअधिकारकर्मी हुन्।
यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी मुक्ताकुमारी यादव लामो समयदेखि राजनीतिमा संलग्न नेतृ हुन्। दुवै समानुपातिक सांसद हुन् ।
झापाकी ५२ वर्षिया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।
रानामगर मंसिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन्।
विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकि कांग्रेस केन्द्रीय सदस्य ४५ वर्षीया मुक्ताकुमारी यादव महोत्तरीकी हुन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।