जनकपुरधाम। धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीले दुर्व्यवहार गरेका छन् ।
जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर–७ धवौलीस्थित एसएनआर जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारसँग विद्यार्थीहरुले दुर्व्यवहार गरेका हुन् ।
प्रधानाध्यापक गोहिवारले विद्यालयको पठनपाठन अस्तव्यस्त बनाउनुका साथै करोडौं रूपैयाँ भ्रष्टाचार गरेको भन्दै विद्यार्थीले उनको शरीरमाथि कालोमोसो फालेर दुर्व्यवहार गरेका हुन् ।
उनीहरुले विद्यालयमा तालाबन्दीसमेत गरेका छन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारले चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने चेतावनी दिए ।
प्रधानाध्यापक गोहिवारसँग विद्यालयको पठनपाठन सुधार गर्न र हरहिसाब सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै आएकोले आफूहरुलाई बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थी सुजितकुमार मण्डलले बताए ।
उनले भवन निर्माण, छात्तवृत्ति, पोशाक वितरण, कम्प्यूटर खरिद लगायतका शिर्षकमा प्रधानाध्यापक गोहिवारले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
उनले छात्रवृत्ति वितरण र पाठ्यपुस्तकको भर्पाई, धानबालीबाट भएको आम्दानी र खर्च विवरण, खाजा व्यवस्थापन खर्चको विवरणलगायत सबै हरहिसाब सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
अभिभावक दीपेश यादवले पनि प्रधानाध्यापक गोहिवार आएदेखि विद्यालयमा अहिलेसम्म अभिभावक भेला नगरेको गुनासो सुनाए ।सरकारले विद्यालयमा बालबालिकाका लागि खाजाको व्यवस्था गरेपनि प्रधानाध्यापक गोहिवारले कहिल्यै खाजा नखुवाएको उनले बताए ।