महोत्तरी – महोत्तरी जिल्लामा आफ्ना मामा माईजुलाई बुवा आमा बनाएर नेपाली नागरिकता लिन खोजेका एक भारतीय युवकलाई प्रहरीले पक्राऊ गरेको छ ।पक्राऊ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत वडा नम्बर –१० बस्ने बुवा धर्मेन्द्र कुमार र आमा शैल देवीका छोरा १८ वर्षीय आकाश कुमार साह रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर – ९ बस्ने मामा राजकिशोर साह र माईजु उर्मिला देवी साहलाई बुवा आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेका आकाश कुमार साहलाई नायब सुब्बा भरत यादवले नागरिकता बनाउनु अगाडि शंका लागेर सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको भेंटिएपछि उनलाई पक्राऊ गरिएको हो ।



नागरिकताको लागि आईतबार नै जिल्ला प्रशासन कार्यालयमा आएका आकाशको भारतीय शैक्षिक प्रमाण पत्र देखेपछि कर्मचारीलाई शंका लागी नागरिकता दिएनन र उनका बुवा बनेर आएका मामा राजकिशोरलाई सनाखत गराई सोमबार नागरिकता दिने भनी फर्काएका थिए ।
तर सोमबार दिउँसो २ बजे आकाश नागरिकता लिन आउँदा नासु भरत यादव सहितको कर्मचारी टोलीले उनीसँग आवश्यक सोधपुछ गर्दा उनी भारतीय नागरिक ठहरिएपछि उनलाई तत्कालै पक्राऊ गरिएको थियो ।उनी पक्राऊ परेपछि उनलाई नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धर्मेन्द्र कुमार लाललाई पनि जिल्ला प्रशासनले फोन गरेर बोलाएपछि उनीहरु पनि जिल्ला प्रशासन कार्यालयमा आएका थिए ।
आकाशले फर्जी रुपमा बुवा आमाको नाम कम्प्युटर माध्यमबाट स्केन गरेर माध्यमिक परीक्षाको नक्कली भारतीय शैक्षिक प्रमाण पत्र बनाएर मामा र माईजुको नाऊ बुवा आमाको महलमा लेखेर ल्याएका छन् भने उनको जन्मदर्तामा मामा माईजुलाई बुवा आमा बनाएर यही माघ ४ गते मनरासिस्वा न.पा.–९ बाट जन्मदर्ता प्रमाण पत्र जारी भएको भेटिएको छ ।उनको शैक्षिक प्रमाण पत्रमा जन्ममिति ई.सं.२००५ जनवरी १ कायम गरिएको छ भने जन्मदर्ता प्रमाण पत्रमा जन्ममिति २०६१ पुस १७ गते कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले नेपाली नागरिकता प्रमाण पत्र लिन खोजेका युवक आकाश, नागरिकता बनाउन सिफारिस गरेका वडा अध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धमेन्द्र कुमार लाल तीनै जनालाई कार्यालयको मुद्दा शाखामा राखेर आवश्यक बयान लिएर आवश्यक कारबाहीको लागि गएराति नै जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो ।




