काठमाडौँ - निर्वाचन आयोगले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद हुनुपर्नेमा चितवन–२ रिक्त छ । मनाङ–१ बाट निर्वाचित टेकबहादुर गुरुङ र कैलाली–२ बाट निर्वाचित अरुणकुमार चौधरी निलम्बनमा छन् ।
निर्वाचनअघि नै प्रतिनिधिसभा नियमावली पारित भए महोत्तरी–१ बाट निर्वाचित भएर फरार रहेका लक्ष्मी चौधरी कोइरी पनि निलम्बनमा पर्नेछन् । राष्ट्रिय सभामा ५९ जना छन् । प्रदेशसभाका सदस्यको ४८ र संघीय संसद् सदस्यको ७९ मतभार हुन्छ । संघीय संसद्का ३ सय ३१ जनाको मतभार २६ हजार १ सय ४९ मतभार हुन्छ । प्रदेशसभाका ५ सय ५० सदस्यको मतभार २६ हजार ४ सय रहेको छ । आयोगले टुंग्याएको अन्तिम मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर्नेछ । राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिनेछ ।
त्यसमा फागुन ११ सम्म दाबी विरोधको उजुरी दिन सकिनेछ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरीमाथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यक्रम छ । १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्र रहनेछ । प्रदेशसभा र संघीय संसद्को मतभार फरक भएकाले दुई वटा केन्द्र कायम गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । मतदान सकिएको चार घण्टाभित्र मत परिणाम आइसक्ने उनले बताए ।