
काठमाडौं- विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईमाथि किर्तिमानी जित हात पारेको छ । यो जितसँगै नेपालको एकदिवसीय मान्यता जोगिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो । नेपालको एकदिवसीय मान्यता जोगिएको छ भने यूएईको धरापमा परेको छ ।
नेपालको विश्वकप क्वालिफायरमा छनोट हुने सम्भावना पनि बाँकी नै छ । लिग २ का बाँकी दुवै खेल जिते नेपाल क्वालिफायरमा छनोट हुनेछ । लिग २ को माथिल्लो पाँच स्थानमा रहने टोलीको एकदिवसीय मान्यता जोगिन्छ ।
तल रहने दुई टिम घटुवामा पर्नेछन् । नेपालको ३४ खेलबाट ३६ भएको छ र तालिकामा चौथो स्थानमा उक्लिएको छ। ३४ खेलबाट ३१ अंक जोडेको यूएई भने छैँटौँ स्थानमा छ।
अब यूएईले एकदिवसीय मान्यता जोगाउन बाँकी दुवै खेल जित्नै पर्ने हुन्छ । लिग–२ मा नेपालले दोस्रो पटक यूएईलाई पराजित गरेको हो ।
यो जित नेपालका लागि अहिलेसम्मकै फराकिलो अन्तरको हो । यसअघि अल अमिरातमा भएको खेलमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई २२.५ ओभरमा ७१ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित आत्मसात गर्यो ।
यूएईको लागि आयान अफजल खानले २९ रन बनाए । नेपालको लागि ललित राजवंशीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले जम्मा २० रन दिएका थिए ।
यस्तै सन्दीप लामिछानेले २ तथा गुल्सन झा, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २४८ रन बनाएर अलआउट भएको थियो । कप्तान रोहित कुमार पौडेलले ७७ रनको योगदान गरे । एकदिवसीयमा रोहितको ८ औँ अर्धशतक हो।
आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्र सिंह ऐरीले ३४ र भीम शार्कीले २९ रन बनाए । नेपालले भोलि पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।