
जनकपुरधाम- सरकारले बिरामीलाई सहज र सुलभ खर्चमा उपचार सेवा दिन पाउनेगरी देशभर झन्डै ९ हजारभन्दा बढी स्वास्थ्य संस्था स्थापना गरेको छ । जस अनुसार नागरिकले स्वास्थ्योपचार गराउन सक्छन् । तर, जनकपुरमा भने फरक दृश्य छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा उपचारका लागि लगभग आठ वटै जिल्लाका नागरिक पुग्ने गर्छन् । तर, विडम्बना चिकित्सक अस्पतालमा भेटिँदैनन् ।
प्रादेशिक अस्पतालमा परिणत हुनु अघि पनि यो समस्या थियो । जसमा अझै सुधार हुन सकेको छैन । अस्पतालमा चिकित्सक भेटिँदैनन् भन्ने सेवाग्राहीको गुनासो आजदेखिको होइन, वर्षौदेखिको हो । तर, न त अस्पतालका चिकित्सक जिम्मेवार बनेका छन् न त प्रशासनले नै ।
सरकारको तलब खाने, भएजतिका सेवासुविधा पनि लिने तर, काम भने आफ्नो क्लिनिकमा गर्ने चिकित्सकहरूको परिपाटी नै बनेको छ । जसप्रति कसैको चाँसो देखिँदैन । यो परिपाटी सुधारका लागि सम्भवतः कसैले कुनै पहल नै गरेको छैन जस्तो पनि देखिन्छ ।
सर्लाहीका सतिश सिंहले भने, ‘जनकपुर प्रादेशिक अस्पताललाई प्रदेशकै नमूना बनाउनुपर्ने हो । जसका लागि यहाँ कार्यरत सबै चिकित्सक र प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्छ । तर, त्यसो देखिँदैन । अनि बिरामी यहाँ किन आउने ?’
‘प्रदेशको राजधानीमा रहेको अस्पतालको बारेमा मैले आज मात्रै भनेर केही हुने होइन, यो समस्या पहिला पहिला पनि बाआमाले सुनाउनु हुन्थ्यो । अहिले पनि उस्तै समस्या छ ।’ उनले थपे ।
जनकपुरका गंगिया देवीको पनि गुनासो उस्तै छ ।
अस्पतालमा भर्ना भएका एकजना आफन्तलाई भेट्न उनी प्रादेशिक अस्पताल पुगेकी थिइन् । तर, समयमा डाक्टर कोही नभेटिने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘डाक्टरहरूले क्लिनिक मै आउन भन्छन् । अस्पतालमा भिड धेरै हुन्छ । राम्रोसँग समय दिन सकिँदैन । त्यसैले क्लिनिकमा आउनुस् ।’
सरकारी अस्पतालमा भिड हुनु स्वभाविक हो । प्रादेशिक अस्पतालमा सेवा नै प्रवाह नहुने होइन तर, अस्पतालका चिकित्सक क्लिनिकमा बढी समय बिताउँदा अस्पतालको सेवामाथि भने प्रश्न उठिरहन्छ ।
प्रादेशिक अस्पताल बाहिर क्लिनिकको भन्दा सस्तोमा उपचार हुन्छ । सरकारले लागू गरेको विभिन्न योजना अनुसार औषधि निःशुल्क पाउनेदेखि उपचारमा पनि छुट हुन्छ । तर, अस्पतालमा कार्यरत डाक्टरहरूको क्लिनिक परिपाटीले गरिब विपन्नलाई समस्या उत्पन्न गराएको छ ।
माथिका यी प्रतिनिधि घटनाका पात्र मात्र हुन् । यस्ता समस्या प्रादेशिक अस्पताल पुग्ने अधिकांशको छ । हुने खाने र पैसा भएकाहरूले नीजिमै उपचार गराउँछन् वा क्लिनिक मै जान्छन् । तर, पैसा नहुने सरकारी अस्पताल नै पुग्छन् ।
प्रादेशिक अस्पतालको विडम्बना यतिसम्म छ की, विभागिय प्रमुखहरू नै आफ्नो कार्यालय समयमा भेटिँदैनन् । विभागिय प्रमुखहरूको सूची हेर्दा अधिकांशको अस्पताल आसपास नै क्लिनिक भेटिन्छन् । अस्पतालका प्रमुखको पनि क्लिनिक अस्पताल बाहिरै छ ।
सरकारले एक वर्ष अघि सरकारी सेवामा कार्यरत चिकित्सकले अनुमति लिएर अनि कार्यालय समय पूरा गरेर मात्रै निजीमा काम गर्न पाउने व्यवस्था लागू गर्ने भनेको थियो । तर, फितलो नितीका अनुसार त्यो कार्यान्वयनमा आउन सकेन । जसका कारण सरकारी चिकित्सकलाई थप सहज भएको छ ।
चिकित्सकको सूची :

माथि सूचीमा देखिएका अधिकांश विभागिय प्रमुख र अन्य चिकित्सकहरूले कतिघन्टा अस्पतालमा समय बिताउँछन् भन्ने उनीहरूको हाजिरीबाट थाहा हुन्छ ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.प्रमोद कुमार यादवको नामसहितको क्लिनिक अस्पतालको बाहिरै छ । हुन त उनी अस्पताल समय अनुसार अस्पतालमै भेटिन्छन् । तर, उनको क्लिनिकमा पनि उत्तिकै भिड हुन्छ ।
अस्पतालको प्रमुख भएर काम गरिरहेका डा.यादवले अन्य विभागिय प्रमुखलाई पनि केही भन्न सकेका छैनन् ।
डा.राम नरेश पण्डित प्रादेशिक अस्पताल जनकपुरको प्रसुति विभागका प्रमुख हुन् । तर, अस्पतालमा उनी कमै भेटिन्छन् । अस्पताल पुग्ने प्रायः बिरामी डा.पण्डितको क्लिनिकमै पुग्नुपर्ने बाध्यतामा छन् ।
अस्पतालबाट पश्चिततिर झन्डै २ सय मिटरको दुरीमा डा.पण्डितको क्लिनिक छ । अस्पतालमा उनीसँग जाँच गराउन आउने महिलाहरूको गुनासो नै हुन्छ, डाक्टरसाब अस्पतालमा भेटिनुहुन्न त्यसैले क्लिनिकमा जानुपर्छ ।
अर्का विभागिय प्रमुख हुन्, डा.अमिय कुमार साह । उनी प्रादेशिक अस्पताल जनकपुरका कान, नाक तथा घाँटी रोग विभागमा प्रमुख हुन् । उनको क्लिनिक त अस्पतालको प्रमुख गेटबाटै देख्न सकिन्छ । उनी पनि अस्पतालमाभन्दा बढी क्लिनिकमै भेटिन्छन् ।
डा.रामदेव चौधरी पनि विभागीय प्रमुख हुन् । उनको क्लिनिक अस्पतालबाट १ सय मिटरको दुरीमा छ । डा.रामदेव चौधरी वरिष्ठ फिजिशियन एवं पेट, कलेजो तथा मधुमेह रोग विशेषज्ञ भनेर उनको नामसहितको बोर्ड झुन्ड्याइएको छ ।
डा.मनिष पाण्डे वरिष्ठ कन्सल्टेन्ट फिजिशियन हुन् । उनको पनि प्रादेशिक अस्पताल बाहिर नै क्लिनिक छ । अस्पताल समयमा उनी क्लिनिकमै बढी भेटिन्छन् ।
प्रादेशिक अस्पतालका लगभग सबैजसो डाक्टरको क्लिनिक छ र उनीहरूले एकातर्फ सरकारी स्रोतको दोहन गरिरहेका छन् भने अर्कोतर्फ सर्वसाधारणलाई लुटिरहेका छन् । जसका कारण प्रादेशिक अस्पतालको गुणस्तरीयता माथि सँधै प्रश्न उठिरहन्छ ।
सरकारले सरकारी नियम अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मको कार्यालय समय बिताउन भनेपनि प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकहरूको रबैया उल्टो देखिन्छ । न त कोही बिहान ९ बजे अस्पतालमा भेटिन्छन् न त उनीहरू ९ देखि ४ अस्पतालमै हुन्छन् । कसरी हुन्छ बिरामीलाई दुःख दिने मात्रै सोच उनीहरूमा देखिन्छ ।
यो समस्या समाधानका लागि प्रदेश सरकारले हालसम्म कुनैपनि ठोस नीत बनाएको छैन भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि केही गर्न सकेको छैन ।
प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले ठोस नीति नभएकै कारण समस्या भइरहेको बताए ।
अस्पताल समयमा चिकित्सकलाई रोकेर राख्नका लागि प्रतिष्ठान के गरिरहेको छ भन्ने नागरिक मिररको प्रश्नमा डा.साहले भने, ‘यो समस्या वर्षौदेखिको हो । जसको समाधान कसरी गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं । केही सुधार पनि भएको छ पछिल्लो समय ।’
उनले थपे, ‘चिकित्सकहरूको तलब यति कम छ की काम गर्नुस भनेर भन्न पनि हामीलाई गाह्रो हुन्छ । वरिष्ठ तहका चिकित्सकहरूको तलबको स्केल यति कम छ की त्यो तलबमा कसरी कोही काम गर्न सक्छ । तर, यो समस्यालाई समाधान गर्नका लागि चिकित्सकहरूको तलब परिमार्जन गर्दै चिकित्सकलाई अस्पतालमै बस्न बाध्य बनाउनका लागि प्रोत्साहनपूर्ण वातावरण निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौं ।’
उपकुलपति डा.साहले भने, ‘अस्पताल अब प्रतिष्ठान मातहत रहेकाले अस्पतालको हरेक कमीकमजोरीलाई हटाउँदै गुणस्तरीय सेवा दिनका लागि हामी तयारीमा जुटेका छौं ।’
अस्पतालमा बिरामीको चाप अनुसारको पूर्वाधारको अभाव रहेको छ भने चिकित्सक लगायतका जनशक्तिको पनि अभाव रहेको छ । जसलाई ध्यानमा राखेर प्रतिष्ठानले काम गरिरहेको डा.साहको भनाइ छ ।-नागरीक मिरर