महोत्तरी- बर्दिवासमा लाग्ने चौथो बर्दिवास महोत्सवको तयारी अन्तिम चरणमा रहेको छ। महोत्सव शुक्रबार (चैत ३ गते)देखि सुरु हुने भएको छ ।
बर्दिवास उद्योग वाणिज्य सङ्घले विभिन्न जातजाती, पेशाकर्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मी लगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ । महोत्सव आयोजनको तयारी अन्तिम चरणमा पुगेको सङ्घले जनाएको छ ।
बर्दिवास उवा संघका अध्यक्ष विष्णुबहादुर खड्काले भौगोलिक, सांस्कृतिक एवम् वातावरणीय विविधता रहेको महोत्तरीमा कृषि, उद्योग, पर्यटन तथा ऐतिहासिक परम्परा र संस्कृतिलाई जिवत बनाई विकाश र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए।
अध्यक्ष खड्काले भने, 'महोत्तरीका धार्मिक सांस्कृतिक परम्परा र सम्पदाकाे संरक्षण, आन्तरिक पर्यटनको संवर्द्धन तथा व्यापार व्यवसायको प्रवर्द्धनमा यो महोत्सवले योगदान पु¥याउने अपेक्षा छ ।'
उनले महोत्सवलाई परिष्कृत, व्यवस्थित, सफल र उदाहरणीय बनाउन सबैसँग आग्रह गरे ।
बर्दिवास नगरपालिकाको संरक्षकत्वमा आगामी चैत ३ गतेदेखि १३ गतेसम्म आयोजना हुने महोत्सवको चौथौं संस्करणमा स्थानीय उत्पादन र पर्यटकीय गन्तव्यबारे सूचनामूलक प्रस्तुति, जातीय रहनसहन, खानपान र भेषभूषाको प्रर्दशन गरिने छ।
मधेश प्रदेश होटल एवम् पर्यटन व्यवसायी महासंघले महोत्सवप्रति गहिरो अभिरुचि देखाएको छ ।
महासङ्घका अध्यक्ष हिरा गौतमले महोत्सव र पर्यटन बीच अन्याेन्याश्रित सम्बन्ध रहेको जनाउँदै स्टल व्यवस्थापनका लागि प्रदेशका आठ वटै जिल्लामा समन्वय गर्ने बताए।
गौतमले यसको सफलताका लागि दल, समाज, व्यापारी, पेसाकर्मी सबैलाई समेटर लानुपर्ने धारणा व्यक्त गरे।
आयोजक बर्दिवास उवा सङ्घका महासचिव उत्तम श्रेष्ठका अनुसार महोत्सव स्थलमा व्यापारिक प्रयोजनका १७० स्टल राखिने व्यवस्था मिलाइएको छ । तीमध्ये स्थानीय उत्पादन र सीपमूलक प्रदर्शनका लागि स्टल वितरणलाई प्राथमिकतामा राखिएको छ। यसका साथै मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनीको व्यवस्था पनि छ ।
कृषि उपज, सङ्घसंस्थालाई प्राथमिकतामा राखिएको श्रेष्ठले जनाए ।
महोत्सवमा लाखभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने आयोजकको अनुमान छ। अवलोकनकर्तालाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रम, दोहाेरी गीत, अन्तर विद्यालय नृत्य प्रतियोगिता, बाल उद्यान जस्ता मनोरञ्जनको विविध व्यवस्था गरिएको छ।
आयोजक बर्दिवास उवा सङ्घले महोत्सवमा पहिलोपटक बीमाको व्यवस्था मिलाएकाे छ । उद्योग, पर्यटन, कृषि एवम् क्रेता विक्रेताबीच अन्तरक्रिया को व्यवस्था गरिएको छ ।
अवलोकनका लागि प्रतिव्यक्ति टिकट शुल्क ६० रुपियाँ तोकिएको छ । यद्यपि महोत्सव शिक्षामूलक र विज्ञान प्रेरित भएकोले विद्यार्थीलाई भने ४० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।
दश दिनसम्म चल्ने महोत्सवमा तीन करोडभन्दा बढीको कारोवार, ६० लाख आम्दानी र ५५ लाख खर्चको अनुमानित विवरण प्रस्तुत गरिएको छ ।
बचत भएको रकमबाट व्यापारिक हकहितका लागि खर्च गरिने महसचिव श्रेष्ठले जानकारी दिए।