
महोत्तरी- परिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पुरा हुने उद्देश्यलये मनाइने सूर्य आराधनाको पर्व चैती छठ को रौनक बढेको छ ।
कार्तिक र चैत्र महिनामा छठ पर्व मनाइन्छ । कार्तिकको छठ पर्व मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ ।
चैती छठलाई मिनी छठ पर्वको रुपमा लिने गरिएको छ ।
महोत्तरीको औरही नगरपालिका लगायत मधेस प्रदेश भरिका जिल्लाहरुका पोखरी र नदिमा जलाशय किनारमा बनाइएको घाटमा चैती छठमा व्रतालु र दर्शनार्थीको भीड लाग्ने गर्छ ।
चैती छठ पर्वको धार्मिक विधि शनिवारदेखि शुरु भइसकेको छ । महान चैते छठ पर्वको आईतवार दोश्रो दिन खरना गरिँदै छ । पर्वको पहिलो दिन शनिवार नहान–खान गरि शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले आइतवारका दिन भरि भोकै बसेर बेलुकी दुध र सक्खरमा बनाईएको खिर तथा रोटी खाएर खरना गर्दै छन् । जसलाई रसियाव रोटी पनि भनिन्छ ।
सोमवार संझिया घाट(अस्ताउँदो सूर्यको पूजा) गरिनेछ भन्ने मंगलवार बिहानी घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने गरेको गौशाला नगरपालिका १० बस्ने मनिकलाल महतोको भनाई छ ।
यता चैती छठ पर्वको अन्तिम तयारीमा रहेका व्रतालु तथा भक्तजन छठ पूजाका लागि विभिन्न सामग्री किन्न र पुजा घाट सजाउन व्यस्त देखिएका छन् । जुनसुकै जति र धर्मका मान्छेले मनाउने यो पर्व आर्थिक अभाव रहेकाहरुले भिक्षा मागेर पनि मान्ने गरेका छन् ।