
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नयाँ मन्त्रीहरूले शुक्रबार (आज) दिउँसो ३ बजे शपथ ग्रहणसमेत गरिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले जिम्मेवारी हेरफेरसमेत गरेका छन् । यसअघि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाउँदा भौतिक पूर्वाधार एकीकृत समाजवादीको भागमा परेको छ ।
नयाँ बन्ने मन्त्रीहरूमा नेपाली कांग्रेसबाट ४ जना छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्यहरु प्रकाशशरण महत अर्थ मन्त्री. रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री बनेका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् भने एकीकृत समाजवादीबाट उपाध्यक्ष डा. वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकासमन्त्री भएका छन् । एकीकृत समाजवादीकै प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको जिम्मा पाएका छन् ।
अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष हुन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सरकारमा पठाएको छ ।
यस्तै नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्दा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि, खानेपानीमन्त्री रहेका जनमत पार्टीका नेता अब्दुल खानले भने राजीनामा बुझाएका छन् । मन्त्रिपरिषद् विस्तारपूर्व राजीनामा दिएका खानले सरकारले आफ्नो दलको मागलाई सम्बोधन नगरेको गुनासो गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडानमा रहेका खानले नपाएपछि राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय कांग्रेसका रमेश रिजाललाई दिएका छन् । यससँगै आफूहरू सरकारबाट बाहिरिएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताए ।
गठबन्धनमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आम जनता पार्टी (आजपा) भने सरकारबाहिरै रहे । यसअघि, उनीहरूलाई क्रमश: ३ र १ मन्त्रालय दिने भनिएको थियो । मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रक्षामन्त्री खड्का छन् भने तेस्रो वरीयतामा गृहमन्त्री श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सातौंपटक पुन:गठन गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् ।