मलंगवा – सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहेकी एक महिलाको सोमबार मध्यान्ह किचिएर मृत्यु भएको छ ।
सोमबार मध्यान्ह ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५÷५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन् । उनी तराई मुलको जस्तो देखिन्छिन् ।
सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।
डीएसपी राईले मृतकको परिचय खुलाउन प्रहरी परिचालन भइरहेको उज्यालो अभियानसँग बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
लापरवाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको डीएसपी राईले बताए ।