
महोत्तरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेसबिनाको देशको कल्पना गर्न नसकिने दाबी गरेका छन् ।
नेपाली कांग्रेस महोत्तरीले संगठन सुदृढीकरण अभियानअन्तर्गत सुरु गरेको पदयात्रा अभियानको शनिबार जलेश्वरमा आयोजित समापन समारोहमा बोल्दै पूर्वगृहमन्त्री खाँणले देशको निकास कांग्रेसकै हातमा रहेको बताएका हुन् ।
अर्को प्रसंगमा बोल्दै उनले भारतीय नेताहरुले पनि पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गर्ने गरेको दाबी गरे । कांग्रेस सभापति देउवा बोल्ने भन्दा पनि गरेर देखाउने व्यक्ति रहेको उनको भनाए थियो ।
उनले भने, ‘भारतका शिर्ष नेताहरुले पनि भन्नुहुन्छ, देउवा जी बोलतै कम हैं लेकिन वह जो चाहते हैं नेपाल में वहि होता है ।’
उनले महोत्तरी समितिले गरेको पदयात्राले कांग्रेसलाई थप मजबुत र एक ढिक्का बनाउने राम्रो उदाहरण रहेको बताए ।
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले देउवा नेतृत्वको सरकारले सफल र शान्त रुपमा निर्वाचन गराएको र बामपन्थीहरुले सरकार चलाउन नसकेपछि पुनः देशलाई देउवाले नै निकास दिएको बताए ।
पार्टीका मधेस अध्यक्ष कृष्ण यादवले मधेसको विकास कांग्रेस नेतृत्वबिना असफल सिद्व भइसकेको भन्दै कांग्रेसले अवसर पाए त्यो पनि सार्थक गरेर देखाउने दाबी गरे ।
कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेसका प्रदेशसभा सदस्य शेषनारायण यादव सहित प्रदेशसभा सदस्यहरु, मेयर र उपमेयरमा निर्वाचित जनप्रतिनिधीहरु, केन्द्रीय, प्रदेश र जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेसले चैत ११ गतेदेखि मधेस प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ भन्ने नाराका साथ पार्टीका महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको नेतृत्वमा १५ दिने पदयात्रा अभियानको शुरुवात गरेको थियो ।
सभापति यादवको नेतृत्वमा ५० जना नेताहरुले जिल्लाको १५ वटै स्थानीय तहको १३२ वटै टोलमा पुग्ने योजना सहित खयरमाराबाट पदयात्रा आरम्भ गरेका थिए ।
पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनताबीच आत्मियता बढाउने उद्देश्यले पदयात्राको शुरुवात गरिएको थियो ।