
महोत्तरी- गौशाला नगरपालिकाले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ ।
कित्ताकाट खुलाउन नगरपालिकामा भू-उपयोग वर्गीकरण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
मंगलवार पत्रकार सम्मेलन गरी भू उपयोग वर्गीकरणको प्रतिवेदन सार्वजनिक गर्दै मेयर दिपेन्द्र महतोले लामो समयको प्रयासपछि गौशाला नगरपालिकाको कार्यालयले प्रदेश मै पहिलो पटक यसलाई प्रक्रियागत रुपमा सुरु गरेको बताए।
अब भोलिदेखि नै यहाँ कित्ताकाट भएपछि क्रमिक रूपमा जनताको चौतर्फी समस्या समाधान हुनेमा मेयर महतोले विश्वास लिएका छन्।

जिल्ला मालपोत कार्यालय महोत्तरीका प्रमुख रमेश पौडेलले नगरपालिकाले प्रक्रियागत रूपमा कित्ताकाटको व्यवस्थापन गरेको जुन सहारनीय र प्रसंशनीय रहेको बताए।
गौशाला नगरपालिकाभरिमा ४३ हजार ८५० कित्ता जग्गा रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले बताए। उनले भने यहाँको जग्गालाई सन् २०२२ को स्याटलेटमार्फत तथ्यांक अपडेट गरिएको हो।
गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोको अध्यक्षतामा आयोजित जग्गा वर्गीकरण सार्वजनिकरण कार्यक्रम नगर उपप्रमुख रेनु कुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेकाे छ ।