
कञ्चनपुर- भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कन्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखाअधिकृत गोविन्दराज उपाध्यायसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा भवानी कन्स्ट्रकसन प्रालिलाई प्रत्यक्ष लाभ पाउने गरी राजस्व गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ । उक्त ठेक्का भवानी कन्स्ट्रक्सनलाई परेको थियो । भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरि नगरपालिकाको राजश्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायलाई सोही बाराबरको बिगो दाबी गरेको छ ।
यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ कारोड ४७ लाख हानी नोक्सानी गरेको भन्दै सोही बराबरको विगो दाबी गरिएको छ ।
इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजश्व चुहावट गरेको भन्दै सोही बराबरको विगो दाबी गरेको छ ।
यसैगरी भवानी कन्स्ट्रक्सनका सञ्चालक इश्वरी प्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध समेत मुद्दा दर्ता भएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५ कारेड ४३ लाख बराबरको विगो दाबी गरिएको छ । सञ्चालक इश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख विगो उनकी श्रीमति खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।