
जनकपुरधाम- धनुषा र बारा जनकपुरधाम जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बिहीबार रामजानकी अन्तर्राष्ट्रिय बहुउदेशीय रंगशालामा भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टिम फाइनलमा पुगेको हो । उपाधिका लागि धनुषा र बाराबीच शुक्रबार प्रतिस्पर्धा हुने छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सहज जित निकाल्दै धनुषा फाइनलमा पुगेको हो । धनुषाले सप्तरीलाई सात विकेटले पराजित गरे । टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर मात्र ७७ रन बनाउन सक्यो ।
सप्तरीका लागि अभिषेक थापाले २१ बलमा नटआउट ३६ रन बनाएपनि अन्य ब्याट्स म्यानले राम्रो साझेदारी गर्न सकेनन् ।
धनुषाका कप्तान हरिशंकर साह, सरद भेषभाकर, कृष्ण कार्कीले दुई/दुई विकेट लिए । विपिन खतरी र विशाल सुशलिङले एक/एक विकेट लिए ।
जवाफी ब्याटिङका लागि आएका धनुषाले १४.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरे । धनुषाका लागि विशाल सुशलिङ अवजित ३८ र हिमाशु दत्तले १५ रनको योगदान दिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका विशाल सुशलिङ घोषित भएका थिए ।
यस्तै, दोस्रो सेमिफाइनल खेलमा विराटनगरलाई एक रनले पराजित गर्दै बारा फाइनलमा पुगेको छ ।
टस जितेर ब्याटिङ रोजेको बाराले २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाए । बाराका लागि कप्तान अनिल साहले २४, निखिल सिंहले २५, रवि साहले २४ र ओपनर साहिल पटेलले २३ रन बनाए । विराटनगरका दिपेश कंडेल र सिद्धान्त लोहनीले तीन/तीन विकेट लिए ।
जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि पुष्प थापाले सर्वाधिक २८ रन बनाए । बाराका रविकुमार साह तीन, पवन सराफ र अनिलकुमार साहले दुई/दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच बाराका रवि साह घोषित भएका थिए ।
यस्तै, प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडी दिपेश कंडेललाई धनुषा क्रिकेट संघ र जनकपुरधाम उपमहानगरपालिकाले सम्मान गरेको छ । दुवै संस्थाले कदरपत्रसहित नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो ।