
महोत्तरी- महोत्तरीको बर्दिवासमा हातहतियार सहित एक व्यक्ति पक्राउ परेको छ। बिहिबार जिल्लाको बर्दिवास नगरपालिका नगरपालिका वार्ड नं -८ स्थित रहेको सागरनाथ बन बिकास परियाेजनाकाे जंगलबाट हतियार सहित व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका वडा नं. १४ नमुनाबस्ती बस्ने ४९ वर्षीय भिम भन्ने गणेश बहादुर मगर रहेको छ।
पक्राउ परेका संग हातहतियारको बारेमा सोधपुछ गरि खोज तलास गर्ने क्रममा झारी भित्र फाईरिङ्ग भईसकेको भरुवा बन्दुक १ नाल र तयारी हालतमा लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरुमा प्रयोग हुने बारुद, फलामको छर्राहरु,सलाईको बट्टा काटी,कपडाको टुक्राहरु र भरुवा बन्दुक थान-२ (दुई) फेला परेको थियो।
फेला परेको लोड भरुवा बन्दुकलाई डिस्पोज गरी हातहतियारहरु रितपुर्वक बरामद गरी र फरार व्यक्तिहरुको लागि पक्राउ पुर्जा जारी गरिएको र घटना बारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएकाे छ। हात्तिलेटको वन व्यवस्थापन शाखाको जंगलमा हातहतियार सहित केही मानिसहरुले जंगली जनावरलाई सिकार गर्नका निम्ति जंगलभित्र पसेर गलत गतिविधि गरिरहेको कुरा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले जंगलमा केहि व्यक्तिहरु सिकार गरिरहेको अवस्थामा देखेपछि सिकारीहरु हातहतियार फालेर भागेका थिए।
सिकारीहरु भाग्दै गरेको अवस्थामा निजहरुलाई पिछा गर्ने क्रममा एक जना मानिसलाई फेला पारि निजलाई नियन्त्रणमा लिएको हाे।