
जनकपुरधाम- नयाँ वर्षको आगमनसँगै धनुषा, सिरहा, सप्तरी, महोत्तरी सहितका दुसाधवहुल गाउँहरुमा सलहेस जयन्तीको आयोजन सुरु भएको छ । सलहेस दुसाध जातिका जातीय देवता तथा मिथिलाञ्चलका लोक देवता मानिन्छन् ।
यस अवसरमा सलहेस गाथासँग सम्बद्ध सिरहाको महिसौथा, फूलवारि–पतारि,चोहर्वा तथा मानिकदह लगायतका ऐतिहासिक स्थलहरुमा विशेष मेलाको आयोजन गरिएको छ भन्ने धनुषाको अकौडा, झिझा, बघचौडा, कपटौल, नरहियालगायतका दुसाधवहुल गाउँहरुमा सलहेसको प्रतीमा बनाएर भव्य मेला आयोजन गरिएको छ ।
छैठौं—सातौं शताव्दीब्दीमा मध्यमधेसको सिरहा नगरपालिकाको महिसौथामा जन्मेका सलहेस मिथिलाञ्चलका लोकप्रिय लोकनायक हुन् । सलहेस जयन्तीको पूर्वसन्ध्यामा सिरहाको पतारीमा अवस्थित फूलबारीमा रहेको हारमको रुखमा फूल्ने सुनाखरीको फूललाई सलहेस र उनकी प्रेमिका मालिन दिदी बहिनीबीचको प्रेमको प्रतीकको रुपमा चित्रण गरिन्छ ।
सिरहाको फूलबारीमा मात्र फूल्ने भनिएको सुनाखरी फूल गत वर्षदेखि धनुषाको बटेश्वर गाउँपालिका १ सोनापुरमा पनि फूल्न थालेको छ । स्थानीय शैलेन्द्र क्रान्तिका अनुसार गत वर्षदेखि सोनापुरमा पनि सलहेस मेलाको आयोजन सुरु भएको छ ।
सलहेस पूजा लोकपरम्परा अनुसार गर्ने चलन छ । झाइल, मृदंगको मधुरो तानमा महराई गाइन्छ । भगताहरु आफूमाथि विभिन्न देवीदेवताको बास रहेको स्वाङ गर्छन् र कारिणी (याचक) हरुलाई मनवांञ्चित आशिष दिन्छन् ।
सामाजिक रुपले उपेक्षित दुसाधहरुको एक शाखा सलहेसलाई र अर्को शाखा चोहरमललाई देवता मान्ने चलन छ । सलहेस गाथामा वर्णन भए अनुसार—सलहेस सुन्दर, बलमान र सुदर्शन पुरुष थिए । उनको रुप र गुणमाथि मोहित तत्कालीन राजकुमारीले विवाहित सलहेससँग प्रेम गर्न थालेका थिए ।
यसका अतिरिक्त मलिनिया बहिनी पनि उनीमाथि लट्ठ थिइन् । सलहेस जयन्तीको अवसरमा माटोका आकर्षक प्रतीमाहरु निर्माण गरिन्छ जहाँ सलहेससँगै चुहरमल, मलिनिया आदिको प्रतीमा बनाइन्छ ।