जनकपुरधाम- उपचारका क्रममा बिरामीको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा तनाव भएको छ ।
उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले शुक्रबार अस्पतालमा तोडफोड गरेपछि तनाव भएको हो ।
छाती दुखेपछि शुक्रबार बिहान अस्पताल भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ जानकी नगरका ६० वर्षीय रामबाबु साहको दिउँसो करिब २ बजे मृत्यु भएको थियो ।
सामान्य अवस्थामा भर्ना भएका बिरामीको चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको आरोप मृतकका छोरा कृष्णा साहले लगाएका छन् ।
‘बिहान उपचारका लागि अस्पताल पुगेका बिरामीको दिउँसो मृत्यु भएको छ,’ मृतकका छोरा कृष्णाले भने, ‘छाती दुखेपछि भर्ना गरेका थियौँ । उपचारका लागि डाक्टरलाई पटक–पटक बोलायौँ, तर आएनन् । उपचार गर्न नसक्ने अवस्था भए अन्यत्र रेफर गरिदिनुपथ्र्यो । हामी अन्तै लैजान्थ्यौँ ।’
कृष्णाले आफ्नो बुवा दिनको १२ बजेसम्म एकदम ठिक रहेको र आफूले भाइलाई अस्पतालमा छाडेर खाना खान घर गएको बेला अचानक उनको स्वास्थ्य अवस्था खराब हुँदा चिकित्सकहरुले उपचारप्रति कुनै चासो नदेखाएको आरोप लगाए । चिकित्सकहरुसँग उपचारका लागि एक घण्टासम्म गुहार लगाएपनि कसैले केही नसुनेको र अनाहकमा आफ्नो बुवाको ज्यान गएको उनको दुःखेसो छ ।
उनले प्रश्न गर्दै भने, ‘मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरलाई सुधार गर्ने जनाएको प्रतिबद्धता कहाँ हरायो ? उनले अनुगमन गरेपनि यहाँ कुनै सुधार देखिएन त ? कि सबै नाटक नै थियो मुख्यमन्त्रीको पनि ? यहाँ उपचारका लागि आउने बिरामीले अनाहकमा यसरी नै ज्यान गुमाउने हो त ? खोई त हाम्रो सरकार ?’
यता, अस्पतालका चिकित्सक डा.शरद यादवले बिरामीको अवस्था पहिलेदेखि नै खराब रहेको र अक्सिजनको मात्रा पनि कम रहेको बताए ।
उनले भने, ‘गम्भीर अवस्थामा पनि उनी उपचारकै क्रममा आफैं बाथरुममा आवतजावत गरिरहेका थिए । सोही क्रममा बाथरुममै लडेर अचानक उनको मृत्यु भयो । यस घटनामा अस्पतालको कुनै गल्ती छैन ।’
यसैबिच, अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले मृतकका छोरा कृष्णा साहसहित आफन्तहरु रवि साह र आशिष साहलाई पक्राउ गरेको थियो । उनीहरुलाई ३ घण्टापश्चात् रिहा गरिएको छ ।
मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
चिकित्सकको लापरबाहीका कारण प्रादेशिक अस्पताल जनकपुरमा यस्ता घटना पटक–पटक दोहोरिने गरेको स्थानीयको आरोप छ ।




