
सर्लाही । सर्लाहीको १० बर्से जनयुद्धको पहिलो सहिद परिवारले नयाँ पक्की घर पाएको छ । नेकपा माओवादी केन्द्र सर्लाहीले जनयुद्धकालिन सहिद स्वर्गीय इन्द्र कोईरालाको परिवारका निमित्त आर्थिक सहयोग संकलन गरि घर बनाइदिएको हो । बागमती नगरपालिका-१२ नयाँ बस्ती बथनियामा निर्मित घर शनिबार साँझ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद कोइरालाको परिवारलाई हस्तान्तरण गरेका छन्। एक समारोहबीच गृहमन्त्री श्रेष्ठले सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गरेका हुन्।
श्रेष्ठले नवनिर्मित घरको रिवन काटेर सहिद परिवारलाई गृह प्रवेश समेत गराएका थिए । चारकोठे पक्की घर बनाउन झण्डै २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजकसमेत रहेका माओवादी केन्द्रका युवा नेता सन्देश श्रेष्ठले जानकारी दिए। जनयुद्धका क्रममा १० कात्तिक २०५५ मा सर्लाहीमा भएको आन्तरिक दुर्घटनामा कोइरालाको मृत्यु भएको थियो। उनी जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गुमाउने पहिलो सहिद हुन्।
दुई वर्षअघि माओवादी केन्द्र सर्लाहीले तत्कालीन जिल्ला अध्यक्ष कमल बुढाथोकीको अगुवाइमा सहिद कोइरालाको परिवारका लागि घर निर्माणको पहल अघि बढाएको थियो। हाल सर्लाहीको हरिवन नगरपालिकाका मेयरसमेत रहेका बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत थापा लगायतको पहलमा सहिद कोइरालाको परिवारका निम्ति घर निर्माण सम्पन्न भएको हो। पतिको निधनपछि लक्ष्मी कोइरालाले माइतीमा शरण लिएर आफ्ना दुई छोरा र दुई छोरी हुर्काएकी थिइन्।
अत्यन्त विपन्न कोइराला परिवार आफ्नो घरसमेत नहुँदा आफन्तकोमा शरण लिन बाध्य भएको थियो। बागमती नगरपालिकाले निःशुल्क उपलब्ध गराएको जग्गामा सहिदको परिवारका लागि घर निर्माण गरिएको हो। पार्टीले निर्माण गरिदिएको घरको साँचो माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री श्रेष्ठबाट बुझ्दै सहिद कोइरालाकी पत्नी लक्ष्मीले खुसी व्यक्त गरिन्। कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सहिदहरुको सपना पुरा गर्न बाकी रहेको बताए । सहिदहरुले जुन उदेश्यको निमित्त आफनो जीवन बलिदान गर्नुभएको थियो ।
त्यो उदेश्य पुरा गर्ने क्रममा जति उपलब्धि भएका छन । त्यस उपलब्धिको रक्षा गर्दै त्यो उदेश्य पुरा गर्ने दिशामा अन्तिम समय सम्म लडिरहने र त्यो उदेश्य पुरा गर्न प्रतिबद्ध रहेको बताए । जनयुद्धको पहिलो सहिद इन्द्र कोइरालालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै देशमा समाजिक तथा राजनीतिक परिवर्तनका निमित्त आफनो प्राणका आहुती दिने जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका सहिद प्रती समेत उहाँले हार्दिक श्रद्धा सुमन अर्पण गरे ।
कार्यक्रममा मधेश प्रदेशका सांसद जबाहरलाल कुशवाहा, बागमती नगरपालिकाका मेयर भरत थापा, बागमती नगरपालिकाको उपमेयर लिला कुमारी मोक्तान, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख (डीआईजी) जनक भट्टराई, सशस्त्र प्रहरीका डिआईजी, बरहथवा नगरपालिकाका निर्वतमान मेयर देवानन्द महतो, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी नरेशराज सुवेदी, सुरक्षा अधिकारीहरु लगायत संचारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।