
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट यसबारे अनुसन्धानका लागि पूर्व उपप्रधानमन्त्री रायमाझी उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरूसँग रकम असुलेको आरोपमा यसअघि तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम असुल्ने कार्यमा पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष बादल र एमाले सचिव रायमाझीसँग निकट सम्बन्ध भएका व्यक्तिहरू संलग्न भएको विषयमा प्रतिनिधि सभाको बैठकमै कुरा उठेको थियो ।