
काठमाडौं । शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव रामबहादुर थापालाई खोज्न विशेष प्रहरी परिचालन भए पनि प्रक्रिया रोक्न राजनीतिक हस्तक्षेप भएको छ।
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा लहरो तान्दा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्णदेखि मञ्जु खाणसम्म तानिएपछि टोपबहादुरलाई पक्राउ नगर्न निर्देशन दिइएको चर्चा छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीले पनि पैसा बुझेको दाबी गरिएको अडिओ सार्वजनिक भएको छ । खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेका छन्। कागजी प्रमाणअनुसार खाँण पनि अछुतो नदेखिएपछि एमाले सचिव टोपबहादुरलाई पनि तत्काल पक्राउ नगर्न आदेश जारी गरिएको प्रहरी स्रोतको दाबी छ।
स्रोतले दिएको जानकारीअनुसार टोपबहादुरलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको थियो। बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहँदा अनुसन्धानमा लहरो तान्दा राजनीतिक पहरो थर्किने भन्दै तत्काल स्थगित गर्न आदेश आएको प्रहरीका एक उच्च अधिकारीले बताए।
भुटानी शरणार्थीको नाम टिप्न केपी शर्मा ओली नेतृत्वको सरकारका पाला कार्यदल गठन गरिएको थियो। तर, ओलीको पाला सुरु भएको धन्दालाई त्यसपछि आएको सरकारका जिम्मेवार पदाधिकारीले निरन्तरता दिएको तथ्य भेटिएपछि एक अर्काको पोल खुल्ने भन्दै गुपचुप बनाउने तयारी भएको बताइन्छ।
स्रोतले भन्यो, ‘‘ओलीलाई विस्थापित गर्दै देउवा सरकार बनेपछि २९ असार २०७८ मा गृहमन्त्री भएका खाँणले २७ साउनमा टेकनारायण पाण्डेलाई गृह मन्त्रालय ल्याएका थिए। पाण्डे र गिरोहबीच निरन्तर सम्पर्क र साँठगाँठ रहेको तथ्य छ। गिरोहको स्वार्थसिद्ध हुने गरी शंकास्पद प्रतिवेदन कार्यान्वयनमा नयाँ गृहमन्त्री अग्रसर भएका थिए। यसकारण सबैलाई बचाउनको लागि टोपबहादुरलाई तत्काल नपक्राउन भनिएको छ।’’
नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप नेताहरूमाथि छ।
गिरोहमा सक्रिय रहेका भनिएका उपराष्ट्रपति कार्यालयका सचिव तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन्।
पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन्।