बर्दिवास- महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा रहेको बर्दिबास नगरपालिकाले ग्रामिण एवं विकट क्षेत्रका विद्यालयमा भौतिक पूर्वाधार संरचना एवं सुविधा थप्ने कार्यलाई तिव्रता दिएको छ ।
शिक्षा क्षेत्रको सर्वाङ्गीण विकाश र सुधारका लागि शैक्षिक सुधार कार्यक्रम अगि बढाएको नगर प्रमुख प्रहलाद क्षेत्रीले बताउनु भयो ।
नगरपालिकाले दक्षिणवर्ति ग्रामिण भेग तथा सुदूर उत्तरी क्षेत्रका विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत साढे ८६ लाखबराबरका योजना कार्यान्वयनमा ल्याएको हो ।
नगरपालिकाको शिक्षा शाखाकाअनुसार यसमध्ये दक्षिणवर्ति भेगका २ विद्यालयमा नयाँ भवन तथा सुदूर उत्तरी भेगका ३ विधालयमा ‘सूचना तथा संचार प्रविधि’ योजना कार्यान्वयन गरिएको छ ।
कार्यक्रम अन्तर्गत वडा नं १३ स्थित जनता मावि डाँडा टोलमा ४ कोठे भवनका लागि ४५ लाख तथा वडा नं १३ को जन जागृत मावि कृष्णपुरको २ कोठे भवनका लागि २२ लाख रुपैया विनियोजन गरिएको छ ।
नगर शिक्षा शाखा प्रमुख गणेश दहालकाअनुसार दुवै विधालय भवनका उपभोक्ता समिति र नगर योजना शाखावीच चालु आवको असारसम्म काम सम्पन्न गर्ने गरि सम्झौता भई निर्माण कार्यसमेत सुरु भएको छ ।
विद्यालय परिसरमा आइतवार नयाँ भवनको शिलन्यास गर्दै नगर प्रमुख प्रहलाद क्षेत्रीले शिक्षाको सर्वाङ्गीण विकाशका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो । उहाले जनतालाई परिवर्तनको अनुभूति हुने गरि स्वास्थ्य र शिक्षाको गुणत्मक तथा संरचनात्मक सुधारका लागि नगरपालिका योजनावद्धढंगमा अगि बढेको उहाको दावी थियो ।
‘नगरको शिक्षा, स्वास्थयलगाएत नगरको विकाशका लागि बोलेर भन्दा गरेर देखाउने सिद्धान्तमा हामी अडिग रहेको उदाहरण बर्दिबास असपताल र विधालय सुधार कार्यक्रम पनि हो’ उहाले भन्नु भयो ।
त्यसतै चालु आवमै काम सम्पन्न हुने गरि सूचना तथा संचार प्रविधि कार्यक्रमका लागि नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं ११ छोड्केस्थित राष्ट्रिय मावि, वडा नं १० झ्याउरे भाङग्रेको लक्ष्मीवास मावि र वडा नं ८ डिपु टोलको शिशु कल्याण आधारभूत विद्यालयलाई छनौट गरिएको छ । सुदूर क्षेत्रका यी विधलयलाई सूचना तथा संचारमा जोड्न प्रति विद्यालय साढे ६ लाखका दरले कूल साढे १९ लाख विनियोजन गरिएको छ ।
नगरपालिका शिक्षा शाखा प्रमुख दहालले यी ३ विधालयमा सूचना तथा संचार प्रविधि मैत्री कोठा निर्माण, फर्निचर सुविधा, वाइफाई तथा कम्प्युटर जस्ता सुविधा र सामग्री जडान गरिने बताउनु भयो ।
जनता मावि डाँडाटोलका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश सिंहले थपिएका संरचनाले विधालय शिक्षालाई सहज, गुणत्मक र प्रविधि मैत्री वनाउन सघाउ पुग्ने धारणा राख्नु भयो ।