जनकपुरधाम । सरकारले जातीय छुवाछुत निर्मूल भएको घोषणा गरिसकेको बेला मधेश प्रदेशमा अझै जातीय छुवाछुतको घटनाहरु निरन्तर भईरहेको पाइएको छ । सोही क्रममा बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर वडा नं.२ अमृतगन्जमा रामजानकी मन्दिरको पुजारी अनिरुद्ध मिश्राले स्थानीय दलित युवा अनमोल पासवानको शरीरमाथि तातो भात खन्याउँदा गम्भीर घाइते भएका छन् । घाइते पासवानको उपचार कलैयाको लक्ष्मी हेल्थ केयरमा उपचार भइरहेको छ । पुजारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
चर्को गर्मीमा पासवान २७ गते बिहान करिब दश बजे मन्दिरमा आराम गर्न पुगेका थिए । तिर्खा लागेपछि उनी नजिकै कलमा पानी खान पुगेका थिए । पुजारी खाना पकाईरहेका थिए । पासवानले सौहार्दपूर्वक ? के खाना पाक्दै छ बाबा ? भनेका थिए । यतिकैमा पुजारीले अछुत जस्ता अपशब्द गालीगलौज गर्दै पाकिरहेको खान पासवानको टाउकोमा एक्कासी खन्याएका थिए । तातो भात शरीरमा खन्याएपछि पासवान चिच्याउँदै भुँईमा ढलेका थिए ।



भुँईमा ढलेका पासवानलाई स्थानीयहरुले बोकेर अस्पताल पुर्याएका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी समेत दर्ता गरिसकेको बताएका छन् । गर्मीको समयमा हरेक दिन स्थानीयहरु हावा खान मन्दिरमा संधै जम्मा हुने गर्छन् ।




