
ढल्केबर- नक्कली भुटानी शरणार्थी काण्डका दोषीलाई कारवाहीको माग गर्दै अनेरास्ववियु धनुषाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।
नक्कली भुटानी शरणार्थी काण्डमा बहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतमा भएका ठुलाठुला भ्रष्टाचार काण्डहरू सेलाएको उल्लेख गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी धनुषाले अहिलेको छानबिन कार्यलाई निरन्तरता दिनुपर्ने माग गर्दै आज धनुषा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
विज्ञप्तिमा नेपाली नागरिकलाई गैर कानुनी रुपमा भुटानी शरणार्थी बनाएर विदेश पठाउने मानव वेचविखन जस्ता जनघनत्व अपराध गर्ने अपराधीहरुलाई कानुन अनुसार कठघरामा उभ्याई नेपालमा प्रचलित कानुन बमोजिम आवश्यक कारवाही गर्न माग गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी धनुषाको अध्यक्ष शिवचन्द्र झाको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी काशी राज दहाललाई ज्ञापन पत्र बुझाएको थियो।