धनुषा- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म भएको बताउनुभएको छ ।
जनकपुरधाममा आइतबार मानव सेवा आश्रम जनकपुरधाम शाखाको पहिलो वार्षिकोत्सव समारोहमा सम्बाेधन गर्दै सभामुख मण्डलले समाजमा रहेका विभिन्न किसिमका खण्डहरु, विभिन्न समुदायका कारण पनि कहिलेकाहीँ हाम्रो मानवता कतै ओझेलमा पर्नेगरेकोले हरेक खण्ड वा समुदायभन्दा पहिले हामी मानव भएको कुरा बुझनु पर्ने बताउनुभयाे।



मानव सेवा आश्रमले सडक आश्रित बन्न पुगेकाहरूका लागि गरिरहेको कामकाजको प्रशंसा गर्दै सभामुख मण्डलले मानवको समृद्धिप्रति मधेश सरकार गम्भीर रहेको बताउनुभयो ।
अब आउने नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गर्न उहाँले मधेस प्रदेश सरकारलाई सुझाव दिनुभयो । भवनको अभावमा आश्रमले झेल्नुपरेको समस्याप्रति चर्चा गर्नुहुँदै सभामुख मण्डलले जग्गा र भवन निमार्णका लागि स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ऐन केन्द्रमै अल्झिएकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो । सरकारको अगामी नीति तथा कार्यक्रममा मानव सेवा आश्रमको विषयलाई प्राथमिकताका साथ राखिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले मधेश प्रदेशको विकासमा गुठी संस्थान बाधक बनिरहेको आरोप लगाउनुभयो । गुठीसम्बन्धी ऐन ल्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली सेनाका पृतनापति प्रेमध्वज अधिकारी, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवसहितकाले मानव सेवाको विषयमा आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा मानव सेवा आश्रम जनकपुरधामलाई सहयोग गरेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो । मानव सेवा आश्रम जनकपुरधाममा अहिले ४८ जनाले सेवा लिइरहेको कार्यक्रममा जानकारी दिइएको छ ।




