
जनकपुरधाम। मधेस प्रदेशबाट विगत १३ वर्षमा १० लाख ३९ हजार ७५४ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाले उपलब्ध गराएको तथ्यांक अनुसार यस प्रदेशबाट गत २०६६/६७ सालदेखि २०७८/७९ को अवधिमा सो संख्यामा युवायुवतीहरु विदेशिएका हुन् ।
सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार विगत १३ वर्षको अवधिमा सबभन्दा बढि धनुषा जिल्लाबाट २ लाख १६ हजार १२२ जना विदेशिएका छन् ।
त्यस्तै, महोत्तरीबाट १ लाख ९६ हजार ८९५ जना, सिरहाबाट १ लाख ७८ हजार २३५ जना, सप्तरीबाट १ लाख २७ हजार १४८ जना, सर्लाहीबाट १ लाख २६ हजार ६५६ जना, रौतहटबाट ७५ हजार ७०२ जना, बाराबाट ७३ हजार १३३ जना र सबभन्दा कम पर्सा जिल्लाबाट ४५ हजार ८६३ जना युवायुवती विदेशमा आफ्नो पसिना बगाईरहेका छन् ।
चालू आर्थिक वर्षको १० महिना (साउन देखि बैशाख)सम्ममा धनुषाबाट मात्रै ३५ हजार ६६ जना वैदेशिक रोजगारीमा विभिन्न खाडी मुलुक पुगेका छन् । जसअनुसार गत साउन महिनामा ३ हजार ५४३ जना, भदौमा ४ हजार ३२२ जना, असोजमा ३ हजार ५४७ जना, कार्तिकमा ३ हजार ५४८ जना, मंसिरमा ३ हजार ५४८ जना, पुसमा ३ हजार ६३८ जना, माघमा ३ हजार २४७ जना, फागुनमा ३ हजार १२९ जना, चैतमा ३ हजार ६८१ जना र बैशाखमा ३ हजार ४३ जना विदेश पुगेका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने घटिरहेको देखिन्छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् । यद्यपी चालु आर्थिक वर्षको मासिक रेमिट्यान्सको अवस्था संतोषजनक रहेको देखिन्छ ।
गत साउनमा ९२ अर्ब २ करोड, भदौमा ९४ अर्ब ८ करोड, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५ करोड, पुसमा १ खर्ब ४ अर्ब ६ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४ करोड र चैतमा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्सवापत नेपाल भित्रिएको सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए ।