जनकपुरधाम- धनुषामा महेन्द्रनगरमा आज विहान सडक अवरुद्ध गर्दै चक्का जाम गरिएको छ ।
नागरिकताविहिन युवाहरुले ढल्केवर-जनकपुर लोकमार्गको महेन्द्रनगर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका कारण सडक अवरुद्ध भएको छ।




सडक अवरुद्ध हुँदा जनकपुरबाट छुट्ने छोटो तथा लामो दुरी सवारी साधन र देशको विभिन्न ठाउँबाट जनकपुरधाम पुग्ने सयौं सवारी साधनहरु महेन्द्रनगरमा रोक्किनु परेको छ । प्रचण्ड गर्मीको बेला सडकमा सवारी साधन रोक्किनु पर्दा हजारौं यात्रीहरु अलपत्र परेका छन् । बढ्दो तापक्रम संगैको तातोमा सडकमा अलपत्र परेका यात्रीहरु ठूलो मर्कामा परेका छन् । उनिहरु कोहि छहारी खोज्दै हिडेका छन् भने कोहि चिसो पानी खोजि रहेको देखिएको छ।

गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि नागरिकताविहिन युवाहरुले अदालत र विधेयकको विरोध गर्ने पार्टीहरु विरुद्ध प्रदर्शनमा उत्रेका छन्।

एमाले सचिव रधुवीर महासेठको निर्वाचन क्षेत्रसमेत रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगरमा युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै चर्का नाराबाजी गरिरहेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण भएपछि त्यसको विरोध गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका पार्टीविरुद्ध पनि प्रदर्शन गरेका छन् ।

करिब ३ वर्षदेखि नागरिकता प्राप्तिका लागि आन्दोलन गर्दै आएका इन्जिनियर इन्द्रजित साफी सहित स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । यसअघि संघीय संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित भएपनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन्।

उक्त विधेयक प्रमाणीकरण भएको भोलिपल्टै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले विधेयक खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने आइतवार सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।






