जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक पनि शत प्रतिशत विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलवार आकस्मिक रुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कुल १ सय ३ सांसद मध्ये मुख्यमन्त्रीको बिश्वासको मतको पक्षमा सम्पुणर् १ सय ३ जना अर्थात शतप्रतिशत सांसदले नै मतदान गरेका छन् ।



नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री यादवले पहिलो पटक पनि शतप्रतिशत नै मत प्राप्त गरेका थिए।
यसअघि, प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहेका थिए।
सत्ता गठबन्धनबाट एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राव्धान रहे पनि मुख्यमन्त्री यादवले त्यसलाई वास्ता गरेका थिएनन् तर ३० दिनभित्र विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनको कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिएका हुन् ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०३ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०७ सदस्यीय प्रदेशसभामा मंगलबार ३ जना सांसद अनुपस्थित थिए । सभामुख मण्डलले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् ।
मुख्यमन्त्री यादवले प्रदेशसभाको पहिलो ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।
यसअघि २०७९ पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको थियो ।
अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले एमाले र कांग्रेस सहित १० वटै दलको विश्वास जुटाउन सफल हुनु भएको छ। । मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुको समर्थन छ ।
मधेस प्रदेश सरकारको दोस्रो कार्यकालका लागि २९ पुस २०७९ मा शपथ लिएसँगै कार्यभार सम्हालेका मुख्यमन्त्री सरोजकुमार यादवलाई ४ माघमा बसेको प्रदेशसभा बैठकमा उपस्थित १०२ जना प्रदेशसभा सदस्यहरु सबैले अर्थात शतप्रतिशत विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत लिएका थिए।




