जनकपुरधाम- धनुषाको औरही गाउँपालिकामा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् ।
वडा नम्बर–१ देखि ४ सम्मका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मंगलबार गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।



वडा नम्बर–१ का वडाध्यक्ष अशेश्वर यादव, वडा नम्बर–२ का वडाध्यक्ष किशुन यादव, वडा नम्बर–३ का वडाध्यक्ष गंगा यादव र वडा नम्बर–४ का वडाध्यक्ष जिनिष लाल मण्डललगायत कार्यपालिका सदस्यहरु राजकुमार सहनी, गिता मण्डल, ललिता पासमान, नवुदा खातुन लगातकाले अध्यक्षसाहको कार्यकक्षमा ताला लगाएका छन् ।
उनीहरुले चक्करको तिर्थयात्रीहक नङ्गुर खोलाबाट फर्किने बेलामा दुर्घटना भएको र त्यस दुर्घटनाबापत औरही गाउँपालिकाको विपन्न व्यवस्थापन कोषबाट ५० लाख नगद छुट्याइएको ६/७ महिना बितिसक्दा पनि हालसम्म वितरण किन नगरिएको, झिटकोहियाको विद्यालय कार्यकर्ताहरुलाई उक्साएर विद्यालय जस्तो स्वतन्त्र ठाउँमा राजनीति गरी ताला किन लगाइयो, अर्थिक वर्ष २०७९/८० बितिसक्दा पनि प्रथम चौमासिकदेखि नै पालिकाको चालुगत, पुँजीगत तथा पालिकाले आन्तरिक स्रोतको हरहिसाब पटक पटक माग्दा पनि अहिलेसम्म कार्यपालिकामा पेश किन नगरिएको, आर्थिक वर्ष २०७९/८० को सभाबाट स्वीकृत रहेको योजना विपन्न वर्ग, जेष्ठ नागरिकहरुको स्वास्थ्य बिमाको लागी छुट्याएको रकम हुँदा पैसा गाँउपालिकाको खर्च हुने र विज्ञापन आफ्नो व्यक्तिको नामबाट प्रचारप्रसार किन गराइयोलगायतका सवालहरुको जवाफ माग्दै तालाबन्दी गरेका छन् ।
औरही गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेटसमेत सार्वजनिक गर्न सकेको छैन । यस सम्बन्धमा अध्यक्ष साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विवाद खडा गरेको बताए । उनले ती जनप्रतिनिधि अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको बताएका छन् ।




