
जनकपुरधाम- मधेश प्रदेश सरकारको विस्तार साउनमा हुने भएको छ । प्रदेश सभाबाट बजेट पारित भएपछि मात्र सरकार विस्तारको विषयमा छलफल हुने बताइएको छ ।
मधेश प्रदेशमा असार १ गते बजेट सार्वजनिक भइसकेको छ । तर बजेट पुस्तिका अझै सभासदहरुलाई उपलब्ध गराइएको छैन् । प्रदेश सभामा बजेटमाथि नै छलफल हुने भएकाले बजेट पुस्तक सभासदहरुलाई पहिलो बैठकमा उपलब्ध गराइनेछ । सभासदहरु असारे योजना र भुक्तानीको प्रक्रियामा रहेकाले बैठकमा ढिलाइ भएको बताइएको छ ।
प्रदेश र पालिकाको भुक्तानी असार २४ गते मध्यराति बन्द भए लगतै प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । स्रोतहरुका अनुसार प्रदेश सभाको बैठक असार २५ अथवा २६ गते बस्ने सम्भावना छ । तर प्रदेश सभाका सचिव रञ्जित यादवले बैठक सम्बन्धमा सरकारबाट कुनै सूचना प्राप्त नभएको बताए । ‘सरकारले बैठक बस्ने सम्बन्धमा कुनै सूचना पठाएको छैन्’ उनले भने, बैठकका लागि सरकारले मितिको जानकारी दिए सभासदहरुलाई सूचना पठाइनेछ । बजेटमाथि छलफल भएपछि पारित हुन केही दिन लाग्ने छ ।
प्रदेश सभाबाट दोस्रो पटक पनि सर्वसम्मत समर्थन प्राप्त गरेको सरोज कुमार यादव नेतृत्वको सरकार भने अझै पूर्णता पाइसकेको छैन् । सरकारलाई चाँडै विस्तार गर्ने सहमति सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले गरिसकेको छ । मधेश र लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाएको छैन् । कोशी प्रदेशमा सरकार गठनको प्रक्रिया थालिएको छ। त्यहाँ बिहीबारसम्म सरकारका लागि दाबी गर्न प्रदेश प्रमुखले समय सीमा तोकेका छन् । साउनको पहिलो हप्ता सरकारले पूर्णता पाउने मुख्यमन्त्री सरोज कुमार यादवले बताए । ‘बजेट पारित भइसकेपछि सरकार विस्तारको गृहकार्य थालिनेछ ’ उनले भने, मलाई सबैदलले विश्वासको मत दिए पनि सरकार विस्तारमा सत्तासीन दलहरुबीच छलफल हुन बाँकी छ । मधेश प्रदेश सरकारमा हाल २ जना मन्त्री र उतिकै राज्यमन्त्री बिना विभागीय छन् । तर २ वटा मन्त्रालय मन्त्रिविहीन छन् । सत्ता साझेदार सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका २ जना मात्र मन्त्री छन् । कांग्रेसबाट अझै मन्त्री हुन बाँकी छ । बिना विभागका मन्त्रीहरु मध्ये एकजना जनमत पार्टीका ई.वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादव रहेका छन् ।
त्यसैगरी,जनता समाजवादी पार्टी(जसपा)की मन्त्री सुरिता साह र राज्यमन्त्री शेष अब्दुल कलाम आजादले मन्त्रालय पाएका छैनन् । अब हुने मन्त्रीमण्डल विस्तारमा कुशवाहा र साह हट्न सक्ने संकेत देखिएको छ । उनीहरुलाई बिना विभागीय राख्नुको अर्थ नै आगामी दिनमा अवकास दिनुरहेको जसपाका एकजना उच्च नेताले बताए । सरकारले अझै पूर्णता नपाएकाले गति लिन नसकेको बताइन्छ । तर मुख्यमन्त्री यादवले सरकार नियमित प्रक्रियामा अगाडि बढेको बताए । साउनदेखि सरकारको गति बढने उल्लेख गर्दै उनले भने, मन्त्रालयको व्यवस्थापन,मन्त्रीको टुंगो लाग्ने लगायत अन्य राजनीतिक नियुक्तिहरु पनि टुंग्याइनेछ। सरकार विस्तारको विषयमा गठबन्धनका दलहरुबीच छलफल गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, शीर्ष नेताहरुबीच विस्तार गर्ने समझदारी भइसके पनि मन्त्रालय सम्बन्धमा हामी छलफल गर्न बाँकी नै छ ।
भाौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले साउन अगावै मन्त्रीमण्डल विस्तार नहुने बताए । ‘गठबन्धनका कुनै विवाद नरहे पनि मन्त्रिपरिषद् विस्तार बारे छलफल भइसकेको छैन्’ उनले भने, दलका नेताहरु बसेर मन्त्रालय थप्ने अथवा भएकै मन्त्रालयमा व्यवस्थापन गर्ने विषय गठबन्धन दलको बैठकबाट निर्णय हुनेछ । सरकारमा मन्त्रीहरु थपिने र हट्ने विषय बजेटसित सम्बन्धित नरहेको मुख्यमन्त्री यादवले बताए ।‘बजेट प्रदेश सभाबाट पारित हुने पर्याप्त बहुमत सरकारसित रहेको छ ’उनले भने, तर सर्वसम्मतिबाट नै बजेट पनि पारित हुनेमा म विश्वस्त छु । ‘अहिले सभासदहरु विकासे योजनाहरुको अनुगमनमा रहेकाले प्रदेश सभाको बैठक बस्न केही ढिला भए जस्तो देखिएको छ ’उनले भने, आगामी आर्थिक वर्षदेखि सरकारले असार अगावै काम सम्पन्न गर्ने क्यालेण्डर बनाएको छ ।