मकालु खबरका मधेश प्रदेश संयोजक पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिट भएको छ।समाचार लेखेको निहुँमा सोमबार राती जनकपुरधामस्थित भानु चौकमा रोहितामाथि एक समूहले कुटपिट गरेको हो।
कुटपिटबाट घाइते भएका पत्रकार रोहितालाई उपचारको लागि जनकपुरधामस्थित धनुषा अस्पतालमा पुर्याएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि राती काठमाडौ लगिएको बुझिएको छ।अहिले काठमाडौँको केएमसीमा उपचार भइरहेको उनीसँगै रहेको बिपिन यादवले जानकारी दिए। उनका अनुसार पत्रकार रोहिताको टाउको र छातीमा गहिरो चोट लागेको छ।
धनुषाको धनौजी गाउँपालिको अनियमितता तथा बेथिति विरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले गुन्डा परिचालन गरी आक्रमण गर्न लगाएको पत्रकार रोहिताको आरोप छ।
यता धनुषा प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रबक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। डिएसपी गौतमले दुवैतर्फ घाइते भएको बताए। प्रारम्भिक जानकारीअनुसार दुवैतर्फ घाइते भएको कुरा छ।
पत्रकार पक्षसँग कुरा हुन पाएको छैन,उनले भने, घटनाको अनुसन्धानका लागि सिसिटिभी फुटेज मगाइएको छ।पत्रकार रोहिता काठमाडौँमा उपचार गराइरहेकाले कुरा हुन नपाएको डिएसपी गौतमले बताए।घटना जुनसुकै निहुँमा भएको भएपनि दोषीलाई कारबाही हुन्छ, दुवै पक्षको कुरा पनि सुनिन्छ,उनले भने, वास्तविक कुरा पत्ता लगाएर दोषीमाथि आवश्यक कारबाही हुन्छ।


