जनकपुरधाम- सत्र वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ।
त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।



विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो ।
घोषित कार्यक्रमअन्तर्गत आज चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गरिने आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए ।




