
चितवन- टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा बन्द भएको छ।
यो सेवा गैरकानूनी रूपमा रङ्ग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ शब्द मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा आएको थियो । एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरिएको छ।
ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रचार गरेको थियो।
रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा १७ साउनदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको घोषणा गरेका थिए।
तर, त्यो एम्बुलेन्स चार दिन नबित्दै फिर्ता भएको छ। विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए।
सो एम्बुलेन्स भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो।
रास्वपाले रङ्ग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो थियो। उक्त एम्बुलेन्सलाई पहिलाकै रङ्गमा बदल्न पठाइएको स्रोतले जनाएको छ।