
जनकपुरधाम- नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ जनकपुर च्याप्टरले गरेको युवा उद्यमीहरूको नेतृत्व विकाससम्बन्धी सिकाइ प्रशिक्षण सम्पन्न भएको छ ।
जनकपुरधाममा आइतबार एनवाईईएफ जनकपुर च्याप्टरले गरेको ‘सिकाइ सत्र’मा अष्ट्रेलियाका पूर्वराजदूत, जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष तथा माेटिभेशनल स्पीकर महेशराज दाहालले युवा यद्यमीहरूलाई प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा पूर्वराजदूत दाहालले नेतृत्व क्षमता भएकाहरूलाई कुनै पनि उद्यम गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले असल नेतृत्व भए मात्र कुनै पनि व्यवसाय फस्टाउन सक्ने भएकाले उद्यमीहरूले नेतृत्व क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयाे ।
सिकाइ सत्रमा सहभागीहरूबीच उद्यम गर्दा आउने समस्या, अवसर र चुनाैतीका विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा सहभागी युवा उद्यमीहरूले आ–आफ्नो अनुभवसमेत सुनाएका थिए ।
कार्यक्रममा एनवाईईएफका पदाधिकारीहरू डा. सोनु साह, अमित झा, नविन साह, राजिवकुमार रौनियारलगायत सहभागी भएका थिए । एनवाईईएफ ४० वर्ष मुनिका उदाहरणीय युवा उद्यमीहरूको संस्था हो । यसले युवा उद्यमी तथा उद्यमशीलता विकासका लागि काम गर्दै आएको छ ।