
महोत्तरी- बाबा बागेश्वर नामले परिचित धीरेन्द्र शास्त्री लाई अतिवादी भनेपछि , बागेश्वर धामका समर्थकहरूले देसभरी विभिन्न ठउँहरूमा कान्तिपुर पत्रिका जलाएर विरोध गरेका छन् ।
सोही क्रममा महोत्तरीको सदरमुकाम जलेश्वरमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ । हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष बालबिर गुप्ता नेतृत्वका करिब १० जनाको समूहले जलेश्वर नगरपालिका वडा २ महेन्द्र चौक स्थित बिभिन्न नारा सहित केहि थान कान्तीपुर दैनीक पत्रिका जलाई विरोध प्रदर्शन गरेका हुन् ।

व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासी स्थित शाश्वत धाममा ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार लेखेको थियो । सोही दिनदेखि हिन्दूवादी सङ्घ सङ्गठनहरूले कान्तिपुर पत्रिकाको विरोध गरिरहेका छन् ।
विरोधकै स्वरूपमा आज जलेश्वरमा कान्तिपुर पत्रिका जलाउँदै उनीहरू कान्तिपुर पत्रिकाको विरोधमा नाराबाजी पनि गरेका छन् । ‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारा लगाउँदै उक्त समूहले पत्रिका जलाएको थियो । उनिहरुले कान्तिपुर पत्रिका वितरण गर्ने गाडी जलाउने धम्की समेत दिएको छ । उनीहरूले सामाजिक सञ्जालमा कान्तिपुरलाई अनफलो गर्ने अभियान पनि चलाएका छन् ।