काठमाडौँ – विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न ५ जनाको गिरोहलाई काठमाडौँको बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन्।



प्रहरीले नियन्त्रण लिएकाहरुमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन तामाङ तथा कास्कीको पोखरा महानगरपालिका-१० घर भई हाल काठमाडौँ नयाँ बसपार्क नै बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले सिमान्त विभिन्न फेसबुक ह्याक गर्थे। फेसबुक ह्याक भइसकेपछि विभिन्न बहाना बनाएर पैसा माग्ने काम भने अमन्तले गर्ने गरेका थिए। त्यस्तै, अमन्तले मागेको पैसा बालेटबाट झिक्ने काम भने अनुप र शुभेक्षाले गर्थे भने रोहनले सिमकार्ड उपलब्ध गराउने गरेको प्रहरी रेग्मीले बताएका छन्।
गिरोहले हालसम्म १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको विवरण भेटिएको कार्यालयले जनाएको छ। अहिलेसम्म २२ जना पीडितहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ।




