
काठमाडौँ — जनकपुरकी आरती साहको न्यायका लागि माइती पक्ष काठमाडौंको माइतीघरमा धर्ना बस्न थालेको बुधबार ६२ औं दिन पुग्दा पनि सरकारले सुनुवाइ गरेको छैन । बरु आश्वासन दिएर घर फर्काउने प्रयास भइरहेको छ । ‘हामीलाई सरकारले गाउँ फर्काउन खोजेको छ, गृहले छलफलमा बोलाएको थियो, छानबिन समिति गठन गरेर छानबिन गर्छौं भन्नुभयो,’ आरतीका मामा सन्तोष भन्छन्, ‘आश्वासनमा हामी विश्वस्त छैनौं, माग पूरा नभएसम्म फर्कंदैनौं ।’
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अनुसन्धानमा सहयोग पुर्याउनका लागि घर फर्कन अनुरोध गरिएको बताए । ‘प्रहरी हेडक्वार्टरसँग समन्वय गरेर माग सम्बोधन गर्छौं, गाउँमा अनुसन्धानमा आउनेलाई आफ्ना कुरा राखेर सहयोग गर्नुस् भनेका हौं,’ उनले भने, ‘शान्ति सुरक्षाको चिन्ता गर्नु पर्दैन भनिरहेका हौं, यसैमा कुरा मिलिरहेको छैन ।’
न्याय पाउने आशा हराउँदै गएपछि धर्नारत आरतीका बुबा विनोदप्रसाद, आमा निर्मला देवी, भाइ प्रेम, बहिनी मनीषा, मामा सन्तोषकुमार, आफन्त र समर्थकले सोमबार प्रदर्शन गरेका थिए । सिंहदरबारको दुई नम्बर गेट पुगेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा आन्दोलनरत महिलालाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात हालेको भन्दै नागरिक आन्दोलनका अभियन्ता र अधिकारकर्मीले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यस विषयबारे बुझेर आफ्ना कमजोरीहरू सच्याउने र प्रहरीले नियतवश पक्राउ गरेको भए कारबाही गर्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ । दिउँसो १२ बजे पक्राउ परेकाहरूलाई माइतीघरबाहेक अन्यत्र आन्दोलन गरेमा कारबाही गर्ने सर्तमा प्रहरीले बेलुकी ७ बजे छाडेको थियो । त्यसपछि उनीहरूले माइतीघरमै धर्नालाई निरन्तरता दिएका छन् ।
सुरुमा उजुरी लिन अटेर गर्दै पीडितमाथि कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत उनीहरूका माग छन् । पीडित पक्षले आरतीका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासू रेनु देवी र देवर रवि साहविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आरतीका श्रीमान् र ससुरालाई पक्राउ गरेपछि जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले पहिलो चरणको अनुसन्धानपछि आरतीका ससुरा र श्रीमान्लाई थुनामा पठाइएको बताए । धनुषाका एसपी खड्का र डीएसपी गौतममाथिको अनुसन्धान र पीडितको मागबारे मंगलबार छानबिन समिति गठन भइसकेको उनको भनाइ छ ।
धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच ०७८ असार २९ मा मागी विवाह भएको थियो । विवाहको केही समयपछि श्रीमान्ले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए । गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको आशंकामा निष्पक्ष छानबिन र न्यायको माग गर्दै आएका छन् ।-कान्तिपुर