
जनकपुरधाम- नेपाल प्रहरीले गठन गरेको उच्च स्तरीय छानबिन समितिले धनुषाकी आरती साहको मृत्यु प्रकरणबारे अनुसन्धानका सुरु गरेको छ ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वमा रहेको छानविन समितिले आरती मृत्यु प्रकरणका विषयमा सुक्ष्म अनुसन्धान थालेको हो ।
समितिले मृत्यु भएको घटना स्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्तहरू, छिमेकी, ओरेक नेपाल तथा अन्य निकायका पदाधिकारीहरूसँग जानकारी लिएको छानबिनमा संलग्न रहेका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
आरती साहका आमा बुबा, बहिनी तथा भाइसहितका आफन्तहरू घटनाको निष्पक्ष छानबिनको माग गर्दे काठमाण्डौको माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका थिए । माइती पक्षले आरतीको हत्या भएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।
मृतकका ससुराली पक्षले आरती साह आफैं आत्महत्या गर्दै आएको छ भने माइती पक्षले न्यायका लागि संघर्ष सुरु गरेपछि प्रहरीले आरतीका ससुरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो पटक काठमाडौंमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले अझ बढी चर्चा पाएको थियो ।
नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो ।