
सिरहा- पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि नवराजपुर गाउँपालिकामा सांघातिक आक्रमण भएको छ।
नवराजपुर गाउँपालिका ३ फूलबरिया गाउँमा रिपोर्टिङ् गर्न गएका मध्ये नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्दै आक्रमण गरि मोवाबाईल समेत लुटपाट गरिएको पीडितले जनाएको छ।
नेपाल सरकारको स्वामित्वमा रहेको फूलबरीया पोखरीमा सोमबार दिउँसो गाउँपालिकाले ठेक्का लगाएको पोखरी खाली गराउन माछा मारिरहेको विषयमा रिपोर्टिङ् गर्न पुगेका पत्रकार गुप्तामाथि त्यस्तो घटना भएको हो।
माछा मार्ने क्रममा पोखरीमा सरकारको स्वामित्व दावी गरिरहेको पक्ष र गाउँ पालिका कार्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य पत्रकार गुप्ताले मोबाईलबाट फोटो, भिडियो खिच्दै गर्दा ‘किन फोटो, भिडियो खिचेको’ भन्दै गरेको आक्रमणकारीहरुले सांघातिक हमला गरेका थिए।
पछिल्ला दिनहरुमा पत्रकारीता असुरक्षित बन्दै गएको छ। पत्रकारमाथि दिनहुँजसो प्रहरी प्रशासन र अन्य क्षेत्रबाट पनि आक्रमण र दुव्यवहार हुँदै आएको छ।
पत्रकार गुप्ता माथि भएको घटनाको छानबिन गरि दोषि माथि कारबाही तथा क्षतिपूर्तिको माग पत्रकार सम्बद्ध संस्थाहरुले प्रशासन संग गरेका छन् ।