
महाेत्तरी- गाैशाला नगरपालिकामा शैक्षिक स्तर सुधार गर्नका लागि नगरपालिकाले विशेष अभियान संचालन गरेको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताएका छन् ।
वुधबार गौशालास्थित श्री मावि निगौलमा नवनिर्मित भवनको उदघाटन समाराेहमा मेयर महतोले शैक्षिक स्तर सुधार्ने नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताए । उनले सोहि अनुसार पालिकाले वजेट समेत विनियोजन गरेको बताए ।
मेयर डा. महतोले भने, 'समाज विकासका लागि शिक्षाको विकास हुनु जरुरी हुन्छ । शिक्षा विनाको समाजको परिकल्पना गर्न सकिदैन । त्यसैले नगरपालिकाले शैक्षिक स्तर सुधारका लागि अनेकौ कार्यहरु गर्दै आएकाे छ । नगरभरिका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विशेष योजना बनाएको छ।’

पहिलाे चरणमा यहाँ शैक्षिक सुधारका लागि भवन र जनशक्तिको अभाव रहदै आएकोले नगरले त्यसलाई व्यवस्थापन गर्न तर्फ लागेको मेयर महतोले बताए ।
विद्यालयका प्रधानाध्यापक जितेन्द्र सिंहका अनुसार विद्यालयमा भौतिक पूर्वाधारको अभावमा कक्षाकोठाभित्र विद्यार्थीलाई कोच्चिएर पढाउनुपर्ने वाध्यता रहेको थियो । अव नगरको सहयोगले निर्मित यस ९ कोठे भवनले शैक्षिक क्रियाकलाप गर्नका लागि विद्यालयलाई राहत प्राप्त भएको उनले बताए ।
विद्यालयको आफनै जग्गामा नगरपालिकाको कार्यालयले ९ कोठे भवनको निर्माण गरिदिएको छ । तीनतल्ले सो भवन निर्माणका लागि आर्थिक बर्ष २०७९-०८० मा २ करोड ४१ लाख २६ हजार ४ सय २५ रुपैयाँ खर्चिएको हो । अत्याधुनिक सेवा सुविधा सहित निर्माण गरिएको सो भवन विजय सृजना जेभी ग्रुपले निर्माण गरेको विद्यालयका प्रअ सिंहले बताए ।
सो अवसरमा विद्यालयकमा लागि निःश्ल्क रुपमा जग्गा प्रदान गरि सहयोग गर्ने निगौलका नरेश सिंह कुशवाहालाई सम्मान गरिएको छ । कुशवाहाले विद्यालयको भवन निर्माणका लागि ६ कट्ठा जग्गा प्रदान गरेका थिए ।