
महोत्तरी- महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
गाउँपालिका अध्यक्ष विशेश्वर यादवले विद्यार्थीहरूको कुरा नसुनी मनोमानी गरेपछि भेटघाट गर्न गएका विद्यार्थीहरूको समूहलाई प्रहरीले कुटपिट गरेको आरोप लगाइएको हो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
घाइते विद्यार्थीबारे प्रहरीले यकिन नगरेपनि वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार यादवले चारजना विद्यार्थी घाइते भएको बताए । यता, विद्यार्थीले ढुंगामुढा गर्दै सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्यास हान्नुपरेको प्रहरीको जिकिर छ ।

सोनमा माध्यमिक विद्यालयका राम्रा शिक्षकहरूको सरूवा नगर्न माग गरेपछि विवाद सुरु भएको र सोही क्रममा गाउँपालिका अध्यक्ष यादवकै निर्देशनमा आफूहरूमाथी कुटपिट गरिएको विद्यार्थीको आरोप छ ।
मंगलबार शिक्षक सरूवाको विरोधमा विद्यार्थीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न गएपछि प्रहरीसँग झडप भएको थियो ।