श्रीलंकामा जारी एसिया कपमा भारतविरुद्ध २ सय रन बनाउने नेपाल एक मात्र टोली भएको छ।
अगस्ट ३१ बाट सुरु भएको एसिया कपमा भारतले अहिलेसम्म चारवटा खेल खेलेकोमा नेपालबाहेक कुनै पनि टिमले दुई सय रन बनाउन सकेका छैनन्।
भारतले एसिया कपको समूह चरणको आफ्नो पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तानसँग श्रीलंकाको पल्लेकेलेस्थित क्यान्डी क्रिकेट रंगशालामा खेलेको थियो।
उक्त खेलमा ४८.५ ओभरमा अलआउट हुँदै भारतले २६६ रन बनाएपछि वर्षा भएको थियो। वर्षा नरोकिएपछि खेल रद्द भएर दुवै टोलीले अंक बाँडेका थिए। उक्त खेलमा पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन।
समूह चरणको दोस्रो खेल भारतले नेपालविरुद्ध ४ सेप्टेम्बरमा पल्लेकेलेको क्यान्डी रंगशालामै खेलेको थियो। उक्त खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गरेको थियो।
नेपालका ब्याटरले त्यो दिन भारतीय बलरसामू ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएका थिए। त्यसको जवाफी ब्याटिङमा उत्रिएको केहीबेरमै पानी परेपछि डिएल मेथडअनुसार खेललाई २३ ओभरमा झारेर भारतलाई १४७ रनको लक्ष्य दिइयो। उक्त लक्ष्य भारतले विना विकेट क्षति २०.१ ओभरमा पूरा गर्यो।
त्यसपछि सुपर फोरमा प्रवेश गरेको भारतले आफ्नो पहिलो खेल १० सेप्टेम्बरमा पाकिस्तानविरुद्ध नै खेल्यो। टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङको निम्तो दियो।
भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएसँगै पानी परेर सो दिनको खेल स्थगित भयो। भारत र पाकिस्तानबीचको खेला रिजर्भ डे राखिएका कारण भोलिपल्ट त्यहि स्थानबाट खेल सुरु भयो र भारतले त्यहि दुई विकेटकै क्षतिमा ३५६ रन बनायो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान भारतीय बलिङसामू निरीह बन्यो। उसका दुई बलर नशीम शाह र हरिश रौफ चोट लागेका कारण ब्याटिङ गर्न आउनै सकेनन्। बाँकी खेलेका खेलाडीले पनि ३२ ओभरमा अलआउट हुँदै १२८ रन मात्रै जोड्न सके र भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो जित निकाल्यो।
भारतले १२ सेप्टेम्बरमा श्रीलंकासँग सुपर फोर अन्तर्गतको दोस्रो खेल खेल्यो। टस जितेर पहिला ब्याटिङ रोजेको भारतीय टोलीले पूरै ५० ओभरसमेत खेलेन। ४९.१ ओभरमा २१३ रन बनाउँदै अलआउट भयो।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका पनि सस्तैमा समेटियो। ४१.३ ओभरमा सबै विकेट गुमाएर श्रीलंका १७२ रनमा मात्र जोड्यो।
भारतका लागि स्पिनर कुलदीप यादव र रविन्द्र जडेजाल क्रमशः चार र दुई तथा पेस बलर जसप्रित बुमराहले दुई विकेट लिए। जसकारण भारत यस खेलमा ४१ रनले विजयी भयो।
भारतले खेलेका पछिल्लो दुई खेल श्रीलंकाकाे राजधानी कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा भएको हो।
भारतविरुद्ध खेलेका यी चारै खेलमा नेपालबाहेक कुनै पनि टिमले दुई सय रनको स्कोर बनाउन सकेको देखिँदैन। एसिया कपको जारी सिजनमा भारत अहिलेसम्म अपराजित टिम हो।