
सप्तरी- बाल विवाह, जिन्दगी तबाह भन्ने नाराका सहित सडक नगरपालिकाको वडा नं.७ बालविवाह मुक्त वडा घोषणा भएको छ । राष्ट्रिय बालदिवस २०८० को सन्दर्भ पारेर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
खडक नगरपालिका ७ नं.वडाका वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक राकेश कुमार साहको अध्यक्षतामा सञ्चालित घोषणा सभामा खडक नगरपालिकाका नगरप्रमुख जय प्रकाश चौधरीले ७ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । यो घोषणासँगैै खडक नगरपालिकाको ७ नं वडा नगरको बालविवाह मुक्त घोषणा गर्ने दोस्रो वडा बनेको छ।
जनस्तरमा जनचेतना जगाउई बालविवाह मुक्त नगर घोषणाका लागि ३१ गते बाल विवाह विरुद्धको महाअभियान सञ्चालन गर्न गइरहेको नगर प्रमुख चौधरीले जानकारी गराए । “भदौ ३१ गते ११ बजे ११ वटै वडाहरुमा ११ हजारको मानव सागर सहितको सहभागितामा बालविवाह विरुद्धको महाअभियान सञ्चालन हुदैछ” नगर प्रमुख जय प्रकाश चौधरीले भने “बालविवाह, जिन्दगी तवाह, बालविवाह नाहि करबै, नहि करय देबै, हमर खडक नगरपालिका हमरा गौरव भन्ने नाराका साथ सञ्चालन हुने बालविवाह विरुद्धको अभियानमा आआफ्नो स्थानबाट सक्रियताका साथ सहभागी हुन सबैमा अनुरोध छ ।” नगर उपप्रमुख रिता चौधरीले घोषणा सभालाई सम्बोधन गर्दै बालविवाह मुक्तका लागि सबै सूचकहरु पुरा गरी बालविवाह मुक्त नगर घोषणा गर्न सबैले आफ्नो स्थानबाट सहयोगको लागि अपिल गरिन् ।
बाल विवाह मुक्त घोषणा सभामा वडा बालअधिकार समितिका सदस्य तथा वडा सदस्य महम्मद् गुलामले वडाको सुन्दर, समृद्ध वडा तथा नगर निर्माणको उद्देश्य सहितको बालविवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य महम्मद गुलामका अनुसार विगत एक वर्षमा जम्मा ४ वटा मात्र बाल विवाह भएकोले नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ ले दिएको अधिकार प्रयोग गरी बालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडा नं ७ पछि बाँकी ९ वटा वडाहरुलाइ क्रमश आगामी मंसिर महिनाभित्र बालविवाहमुक्त वडा घोषणा गर्ने र नगरपालिकालाइ नै बालविवाहमुक्त घोषणा गर्ने योजना रहेको नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख एवम् बालकल्याण अधिकारी अनिता साहले जानकारी दिइन् । बाल विवाह मुक्त नगर निर्माणका लागि खडक नगरपालिकाले सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा बालविवाह विरुद्वको अभियान सञ्चालन गर्दै आएको छ ।
बाल विवाह मुक्त वडा घोषणा सभामा बालक्लबमा आबद्व बालबालिकाहरुले विभिन्न सन्देशमूलक नाटक तथा नृत्यहरु प्रदर्शन गरिएको थियो । खडक नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामाकान्त चौधरी, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, जिल्ला बालक्लब सञ्जाल, स्थानीय प्रहरी अधिकारीहरु, महिला समूहका प्रतिनिधिहरु, बालक्लब तथा सञ्जालका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा नगरपालिकाका वर्तमान तथा पूर्व जनप्रतिनिधिहरु, सेभ द चिल्ड्रेनका प्रतिनिधि, सवल नेपालका प्रमेश्वर झा लगायतले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।