
धनुषा- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद वर्तमान संविधान जारी गर्नमा स्वर्गीय सुवासचन्द्र नेवाङ्गको भूमिका अतुलनीय भएको बताउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेको मधेश प्रदेश कमिटीले आज जनकपुरधाममा आयोजना गरेको “नेपालको संविधान निर्माणमा कमरेड सुभाचन्द्र नेवाङ्ग” भूमिका सम्बन्धि विचार गोष्ठीमा उहाँले संविधान निर्माणका लागि संविधान सभाका अध्यक्षका हैसियतले स्वर्गीय नेवाङ्गले खेल्नुभएको समन्वयकारी भूमिकाका कारणबाट नेपाली जनताले उपहारको रुपमा लोकतान्त्रिक संविधान निर्माण भएको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान संविधान उत्कृष्ट भए पनि संविधान संशोधनीय दस्ताबेज रहेकाले देशको आवश्यकता अनुसार संशोधन हुन सक्ने भएकाले एमाले संशोधनको विपक्षमा नभएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको राजनितिमा नेवाङ समस्या बल्झाउने होइन समस्या मिटाउने रसायन जस्तै रहेको बताउँदै उहाँले चाहे आफनो पार्टीमा होस कि समग्र राजनितिक समस्या र कठिनाईमा नेवाङकै पहलकदमी र सक्रियतामा अनेकन समस्याहरुको समाधान भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले स्वर्गीय नेवाङ्गकै कारणले विश्वका २ सय मुलुक बनेको संविधानमध्ये नेपालको संविधान सबैभन्दा उत्कृष्ट संविधान बनेको बताउनुभयो ।
संविधान निर्माणमा सबै पार्टीलाई मिलाउने पुलको काम पनि उहाँले नै गरेको स्मरण गर्दै पार्टी सचिव भट्टराईले नेवाङको मिलनसार व्यवहारबाट सिकेर मधेशमा पार्टीको संगठन विस्तार र नेता कार्यक्रता बिचको मेलमिलापमा लाग्न र २०८४ मा पार्टीको एक्लै सरकार बनाउन मेहनत गर्न आग्रह गर्नुभयो।
मधेश प्रदेश सरकारका तर्फबाट प्रदेश सरकारका विना विभागीय मन्त्री सुरिता कुमारी साहले वर्तमान सङ्घीयता सहितको गणतान्त्रिक संविधान निर्माणमा संविधान सभाको अध्यक्षको हैसियतले स्वर्गीय नेवाङ्गले खेल्नुभएको भूमिका प्रशंसनीय भएको बताउनु भयो।
नेकपा एमालेका मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको सो विचार गोष्ठीमा पार्टीका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, जुली कुमारी महतो सहितका नेताहरूले संविधान निर्माणमा स्वर्गीय नेवाङ्गको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।-