महेन्द्रनगर- संविधान दिवसको अवसरमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा दिप प्रज्वलन गरिएको छ ।
नेपाली काँग्रेस क्षीरेश्वरनाथ नगर समितिको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिको मुख्य बजार महेन्द्रनगर हनुमान चोकमा आज साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियारले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा सबै पक्षबाट कार्यान्वयन हुनु पर्नेमा बताए । उनले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए ।

क्षीरेश्वरनाथ नगरपालिकाका पूर्व मेयर समेत रहेका पजियारले जनताले लडेर ल्याएको संविधान कार्यान्वयन नहुने हो भने जनतालाई अपराध गरेको ठहरिने बताए । उनले संविधानका केहि बुँदामा संशाेधन हुनु पर्ने धारणा नेपाली काँग्रेसको रहेको र यसलाई संशाेधन गरिनु नै पर्ने बताए ।

नेपाली काँग्रेस क्षीरेश्वरनाथ नगरपालिकाका सभापति लालबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगर समितिका नेता कार्यकर्ता लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधरण जनताको उपस्थिती रहेको थियो ।


